नैरोबी । कर वृद्धि सम्बन्धी नयाँ विधेयक को विरोधमा केन्यामा हालै भएको सरकार विरोधी प्रदर्शनमा कम्तिमा ३९ जनाको ज्यान गएको अल जजिराले जनाएको छ ।
केन्या राष्ट्रिय मानव अधिकार आयोग (केएनसीएचआर) ले सोमबार मृतकको सङ्ख्या घोषणा गरेको हो । केएनसीएचआर रेकर्डले “देशव्यापी विरोध प्रदर्शनको सम्बन्धमा“ ३९ जनाको मृत्यु र ३६१ जना घाइते भएको सङ्केत गरेको छ । यो तथ्याङ्कले जुन १८ देखि जुलाई १ सम्मको अवधिलाई समेटेको आयोगको विज्ञप्तीले जनाएको छ ।
अधिकांश युवा प्रदर्शनकारीहरूको नेतृत्वमा आयोजित शान्तिपूर्ण कर–विरोधी र्याली गत हप्ता संसदले विवादास्पद कानून पारित गरेपछि घातक हिंसाको स्तब्धकारी दृश्यमा परिणत भएको थियो ।
राष्ट्रपति विलियम रुटोले आइतबार टेलिभिजन अन्तर्वार्तामा विरोध प्रदर्शनमा १९ जनाको मृत्यु भएको बताएका थिए । उनले उक्त घटनामा आफ्नो कुनै संलग्नता नभएको र मृत्युबारे अनुसन्धान गर्ने वाचा गरे ।
“केएनसीएचआरले प्रदर्शनकारी, चिकित्सा कर्मी, वकिल, पत्रकारहरुको चर्च, चिकित्सा आपतकालीन केन्द्र र एम्बुलेन्स जस्ता सुरक्षित स्थानहरूमा गरिएको अनावश्यक हिंसा र बल प्रयोगको कडा निन्दा गर्दछ“, आयोगले जनाएको छ ।
“प्रदर्शनकारीहरू विरुद्ध अत्यधिक र असमान बल प्रयोग गरिएको थियो भन्ने हाम्रो धारणा छ“, यसले बतायो । आयोगले संसद र अन्य सरकारी भवनमा केही प्रदर्शनकारीहरूले प्रदर्शन गरेको हिंसात्मक र स्तब्ध पार्ने अराजकताका कार्यको पनि कडा निन्दा गरेको छ ।
राष्ट्रपति रूटोले कर वृद्धि सम्बन्धी विधेयकमा कानूनमा हस्ताक्षर नगर्ने घोषणा गरेतापनि मङ्गलबारदेखि कार्यकर्ताहरूले नयाँ विरोध प्रदर्शनको आह्वान गरेका छन् । प्रदर्शनकारीहरुले सामाजिक सञ्जालमार्फत राष्ट्रपति रुटोको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।