एजेन्सी - हमासलाई पुनर्गठन हुनबाट रोक्ने उद्देश्यले इजरायलले शुरु गरेको आक्रमणमा गाजा क्षेत्रको उत्तरी भागमा कम्तीमा ७७० जनाको मृत्यु भएको छ ।
गाजाको नागरिक सुरक्षा निकायले बिहीबार यो तथ्यांक प्रस्तुत गरेको हो । ‘उत्तरी गाजामा सैन्य कारबाही शुरु भएयता ७७० भन्दा बढी मानिसको मृत्यु भएको छ’, क्षेत्रको नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सलले भने । भग्नावशेषमुनि मानिस पुरिएका हुनाले मृत्यु सङ्ख्या बढ्नसक्ने उनले बताए ।
उनका अनुसार मध्य गाजामा विद्यालय-आश्रयस्थलमा भएको आक्रमणमा १७ जनाको मृत्यु भएको छ । इजरायली सेनाले भने उक्त स्थलमा हमास लडाकूहरूलाई लक्षित गरेर आक्रमण गरेको बताएको छ ।
उत्तरी क्षेत्रमा अब उसले प्राथमिक उद्धार सेवा प्रदान गर्न नसक्ने नागरिक सुरक्षा निकायले बिहीबार बताएको छ । इजरायली सेनाले आफ्ना टोलीहरूलाई ‘बम विस्फोट गरी मार्ने’ धम्की दिएको आरोप लगाएको छ ।
इजरायली सेनाका अनुसार आक्रमणको उद्देश्य हमासले उत्तरमा पुनर्निर्माण गर्न खोजिरहेको सञ्चालन क्षमतालाई नष्ट गर्नु हो । सेनाले मानिसहरूलाई क्षेत्र खाली गर्न बारम्बार भनेको छ र त्यसो गर्न उनीहरूले सेनाले नियन्त्रण गरेका चेकप्वइन्टहरू पार गर्नुपर्छ ।
एएफपीद्वारा प्रमाणित अनलाइनमा पोस्ट गरिएका तस्विरले यस्ता चेक प्वइन्टहरू पार गर्न प्रतीक्षा गरिरहेका प्यालेस्टिनीहरूको भीड देखाएका छन् । केही प्यालेस्टिनीले यस प्रक्रियाको क्रममा दुर्व्यवहार वा हिरासतको बारेमा उजुरी गरेका छन् ।
सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि इजरायलले हमासको गाजामा आक्रमण शुरु गरेको थियो ।