वैशाख–२१,बुटवल ।
बुटवल नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले प्रविधिको विकाससँगै समाजमा अपराधको मोडल फेरिँदै गएको बताएका छन् । इलाका प्रहरी कार्यालय बुटवलको नवनिर्मित भवनको बिहिवार उद्घाटन गर्दै कुँवरले प्रविधिको प्रयोगसगैँ आपराधिक गतिविधिहरु समेत फरक ढङ्गले बढ्न थालेको बताएका हुन् ।
उनले प्रविधिले सृजना गरेको आपराधिक चुनौतीको नियन्त्रण सामना गर्न नेपाल प्रहरी पनि सोहीअनुसार अग्रसर भएर काम गरिरहेको बताउदै आइजिपी कुँवरले प्रहरी सीमान्तकृत र निम्नवर्गीय नागरिकको साथी बनेर काम गर्ने गरी अगाडि बढिरहेको जानकारी दिए ।
उनले नेपाल प्रहरीले जनताको विश्वास जित्ने गरी काम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै जनताको जीउधनको रक्षा र मावन अधिकारको संरक्षण गर्दै सर्वसाधारण नागरिकको जनजीवनलाई सरल, सहज र सुरक्षित गराउने दायित्व पूरा गर्न कुनै कसुर नराख्ने बताए ।
कुँवरले स्थानीय सरकारको समन्वयमा लागु औषध नियन्त्रणको विशेष कार्यक्रम ल्याउने जानकारी दिदै प्रहरीको कार्यदक्षता वृद्धिका लागि आवश्यक पहल थालिएको बताए । उक्त भवन र कार्यालय प्रमुख निवास कुल ३ करोड १९ लाख १३ हजार ३ सय ३६ रूपैयाँ ३२ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।