काठमाडौं । इरानको राजधानी तेहरानमा कार्यरत ११ जना नेपाली भारतीय सहायतामा देश फर्किने तयारीमा रहेका छन् । उनीहरू तेहरानबाट सडकमार्ग हुँदै करीव ९५० किलोमिटर टाढा इरानको दोस्रो ठूलो सहर मसद पुगेका हुन् ।
भारतले इरानमा रहेका नेपाली तथा श्रीलंकाली नागरिकको उद्धार गर्ने निर्णय गरेपछि भारतीय दूतावासको समन्वयमा यी नेपालीलाई नेपाल फर्काइन लागिएको छ । हाल उनीहरू दोहास्थित नेपाली दूतावासबाट नेपालका लागि उडान प्रतिक्षामा छन् ।
उद्दार गरिने नेपालीहरू मध्ये उदयपुर घर भएका हरि थापा, उत्सव थापा र गायत्री कार्की सहित लुम्बिनी प्रदेशका विष्णु भुसाल, बुद्धि भुसाल, सागर पौडेल, सुमन गैरे, यज्ञ मरासिनी, गणेश पोखरेल र राजु खनाल रहेका छन्। उनीहरू मसदको एक होटलमा छन् भने केही नेपाली इरानको जेलमा छन् जसको उद्धार सम्भव भएको छैन ।
यी व्यक्ति इरानमा भान्छे र अन्य कामका सिलसिलामा थिए। भारतले सञ्चालन गरेको 'Operation Sindhu' अन्तर्गत अहिले नेपालीको उद्धार सुरु भएको हो ।