काठमाडाँ। बिहारको छपरा विधानसभा क्षेत्र यसपालिको चुनावमा देशभरका नजर केन्द्रित गर्ने सबैभन्दा तीव्र प्रतिस्पर्धा देखिएको ठाउँ बन्यो। हरेक राउन्डको मतगणनामा परिणाम उल्टो–पुल्टो भइरह्यो—कहिले BJP उम्मेदवार छोटी कुमारी अगाडि, कहिले भोजपुरी स्टार खेसारी लाल यादवले अग्रता बनाउने । अन्ततः छोटी कुमारीले ७,६०० मतको अन्तरमा विजय हात पारिन्।
खेसारीले ७९,२४५ मत पाए भने छोटीकुमारीले ८६,८४५ मत बटुलेर जित सुनिश्चित गरिन् । खेसारी लाल यादवको लोकप्रियता, स्टारडम र प्रशंसकको प्रभावले छपरा चुनावलाई राष्ट्रिय स्तरमै चर्चामा पुर्याएको थियो । तर स्थानीय पहिचान, संगठन–गत सक्रियता र लामो समयदेखि गरिएको जनसम्पर्ककै कारण छोटीकुमारीले निर्णायक ‘ग्रासरुट’ समर्थन जुटाउन सफल भइन् ।
यही कारण छपरा प्रदेशकै सबैभन्दा चर्चित र रोमाञ्चक निर्वाचन क्षेत्र बनेको हो । ३५ वर्षीया युवा नेतृ छोटीकुमारी पहिलोपटक विधानसभा चुनावमा उभिएकी थिइन् । सामाजिक काम, जनस्तरसम्म निरन्तरको पहुँच र जिल्ला परिषद् अध्यक्षका रूपमा बढाएको प्रभावले उनले चुनाव अघि नै बलियो छवि बनाइसकेकी थिइन् ।
उनले १२ कक्षा पास गरेकी छन्, करिब १.४ करोड रुपैयाँको सम्पत्ति छ र कुनै आपराधिक मुद्दा छैन । यसपटक BJP ले पुराना नेता डा. सी.एन. गुप्तालाई टिकट नदिई ‘नयाँ पुस्ताको नेतृत्व’ अघि सार्ने निर्णय गरेको थियो । छोटीकुमारीलाई उम्मेदवार बनाएर पार्टीले लिएको रिस्क सफल बन्यो र छपरा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व उदाए ।