काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) ले सन् २०२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ। ट्रेड युनियन आन्दोलनलाई थप एकताबद्ध, सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित केन्द्रले आफ्नो विधानअनुसार वार्षिक नेतृत्व परिवर्तन गर्ने लोकतान्त्रिक अभ्यासलाई निरन्तरता दिँदै यस वर्ष पनि आपसी सहमतिका आधारमा नेतृत्व चयन गरेको हो ।
१० वटा राष्ट्रिय ट्रेड युनियन महासंघहरूको साझा मञ्चका रूपमा स्थापित JTUCC ले सबै महासंघबीच समान सहभागिता, एकीकृत भावना र समावेशी लोकतान्त्रिक अभ्यास सुनिश्चित गर्दै आएको छ । केन्द्रको विधानअनुसार २ लाख ५० हजारभन्दा बढी सदस्य संख्या भएका महासंघबाट अध्यक्ष र सोभन्दा कम सदस्य संख्या भएका महासंघहरूबाट महासचिव चयन गर्ने व्यवस्था गरिएको छ, जसलाई ट्रेड युनियन आन्दोलनमा समावेशी लोकतन्त्रको उदाहरणका रूपमा हेरिएको छ । सोही विधान र आपसी सहमतिअनुसार सन् २०२६ का लागि अध्यक्ष पदमा विनोद श्रेष्ठ (GEFONT) र महासचिव पदमा नवराज दाहाल (SITUC) चयन भएका छन्। यससँगै महिला समिति संयोजकमा प्रमिला ढुंगाना (NTUC) र महिला समिति सचिवमा रीता पोखरेल (NDFONT) चयन भएका छन् ।
नव निर्वाचित नेतृत्वले श्रमिकहरूको हक, हित र अधिकारको संरक्षण तथा प्रवर्द्धनलाई आफ्नो प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ । साथै सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सुरक्षित, मर्यादित र सम्मानजनक रोजगारीको सुनिश्चितता, सामाजिक संवादको प्रवर्द्धन, लैङ्गिक समानता, जलवायु परिवर्तन र न्यायोचित रूपान्तरण तथा न्यायपूर्ण श्रम सम्बन्धको विकासमा केन्द्रित भएर काम गर्ने संकल्प व्यक्त गरिएको छ ।
केन्द्रले आगामी दिनहरूमा पनि श्रमिक आन्दोलनलाई एकीकृत गर्दै नीति निर्माण तहमा सशक्त हस्तक्षेप गर्ने, श्रमिकमैत्री कानून तथा नीतिहरू निर्माणका लागि दबाब सिर्जना गर्ने र राष्ट्रिय श्रम सरोकारका विषयमा साझा धारणा निर्माण गर्दै अघि बढ्ने जनाएको छ । “एकता नै शक्ति हो” भन्ने मूल मन्त्रका साथ साझा एजेन्डामा आधारित सहकार्यलाई अझ मजबुत बनाउने JTUCC को दृष्टिकोण रहेको छ । केन्द्रले सम्पूर्ण श्रमिक वर्ग, सञ्चार माध्यम तथा सरोकारवाला निकायहरूसँग निरन्तर सहकार्य र समर्थनको अपेक्षा समेत गरेको छ ।