काठमाडौं । संयुक्त राज्य अमेरिका, इजरायल र इरानबीच जारी तनावपूर्ण युद्ध बुधबार १९औँ दिनमा प्रवेश गरेको छ।
पछिल्लो घटनाक्रमले द्वन्द्व अझ चर्किँदै गएको संकेत दिएको छ। इजरायली आक्रमणमा इरानका सुरक्षा प्रमुख अली लारिजानी र उनका छोराको मृत्यु भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले पुष्टि गरेको जनाएको छ।
सो आक्रमणमा बासिज अर्धसैनिक बलका कमाण्डर घोलामरेजा सुलेमानी समेत मारिएको दाबी गरिएको छ। उक्त घटनापछि आईआरजीसीले इजरायलविरुद्ध व्यापक क्षेप्यास्त्र आक्रमण सुरु गरेको जनाएको छ।
इरानले तेल अभिभस्थित १०० भन्दा बढी स्थानलाई लक्ष्य बनाएर आक्रमण गरिएको दाबी गर्दै लारिजानी, उनका छोरा तथा सुलेमानीको हत्याको बदला स्वरूप यो कारबाही गरिएको उल्लेख गरेको छ।
इरानले इजरायलको अत्याधुनिक प्रतिरक्षा प्रणालीले आफ्ना सबै आक्रमण रोक्न नसकेको दाबी गरेको छ। तर इजरायलले अधिकांश मिसाइल अवरुद्ध गरिएको बताउँदै केही भग्नावशेष खसेर एक महिलाको मृत्यु भएको पुष्टि गरेको छ।
यसबीच, अमेरिका प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा द्वन्द्वमा संलग्न रहेको आशंका भइरहँदा मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ। अन्तर्राष्ट्रिय समुदायले तत्काल संयमता अपनाउन र वार्तामार्फत समाधान खोज्न आग्रह गरिरहेका छन्।
द्वन्द्व अझै लम्बिने संकेत देखिएको छ, जसले क्षेत्रीय मात्र होइन, विश्वव्यापी प्रभाव पार्ने चिन्ता बढाएको छ ।