रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही जिल्ला कार्य समितिको प्रथम जिल्ला अधिवेशन आइतबार तिलोत्तमा नगरपालिका-५, मणिग्रामस्थित विश्राम वाटिका सभाहलमा भव्य रूपमा सुरु भएको छ।
जिल्ला सभापति डा. बुद्धि शर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा प्रदेश सभापति माननीय देबराज पाठक, प्रतिनिधि सभा सदस्य सागर ढकाल सहित पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेताहरूको सहभागिता रहेको थियो। अधिवेशनको उद्घाटन नेताहरूले सामूहिक रूपमा घण्टी बजाएर गरेका हुन्।

अधिवेशनमा जिल्लाभरबाट आएका प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममार्फत पार्टीको संगठनात्मक अवस्था, विगतका गतिविधिको समीक्षा, आगामी रणनीति तथा संगठन सुदृढीकरणका विषयमा व्यापक छलफल गरिने जनाइएको छ।
रास्वपाले अधिवेशनलाई जिल्लामा पार्टीको संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जनसम्पर्कलाई थप प्रभावकारी बनाउने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। अधिवेशनमा राजनीतिक, सामाजिक तथा समसामयिक विषयमा समेत विचार-विमर्श हुने बताइएको छ।
अधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ जिल्ला कार्यसमिति चयन गरिनेछ। यसलाई रुपन्देहीमा रास्वपाको संगठनात्मक सुदृढीकरण र नेतृत्व हस्तान्तरणको महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ।
