काठमाडौं । नेपाली कांग्रेसले देशव्यापी सदस्यता अद्यावधिक अभियानलाई तीव्रता दिने क्रममा केन्द्रीय सदस्य अब्दुल सत्तारलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ । पार्टीको केन्द्रीय कार्यालयले उनलाई गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी (पश्चिम), रुपन्देही र कपिलवस्तु समेटिएको निर्वाचन क्षेत्र-१५ मा सदस्यता अद्यावधिक तथा संगठन विस्तार अभियानको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो ।
पार्टी स्रोतका अनुसार नेता सत्तारले सम्बन्धित जिल्लाका स्थानीय तह, क्षेत्रीय समिति तथा नेता-कार्यकर्तासँग प्रत्यक्ष समन्वय गर्दै सदस्यता फाराम संकलन, अभिलेख प्रमाणीकरण र सदस्यता व्यवस्थापनलाई प्रभावकारी बनाउने योजना अघि सारेका छन् ।
अभियानको मुख्य उद्देश्य पार्टीको सदस्यता अभिलेखलाई व्यवस्थित, अद्यावधिक र पारदर्शी बनाउनुका साथै तल्लो तहसम्म संगठनलाई थप सुदृढ बनाउनु रहेको छन ।
नेता सत्तारले सदस्यता अद्यावधिक अभियानलाई समयमै सम्पन्न गर्न स्थानीय नेतृत्वसँग सहकार्य गर्दै व्यापक जनसम्पर्क विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले विशेषगरी युवा, महिला तथा नयाँ पुस्तालाई पार्टीको सदस्यता प्रक्रियामा सक्रिय रूपमा सहभागी गराउने र डिजिटल प्रणालीमार्फत अभिलेख व्यवस्थापनलाई आधुनिक बनाउने लक्ष्य लिएको बताएका छन् ।
राजनीतिक वृत्तमा यो जिम्मेवारीलाई संगठन निर्माण र सदस्यता व्यवस्थापनमा पार्टीले देखाएको विश्वासका रूपमा हेरिएको छ । क्षेत्रीय तहका कार्यकर्तासँगको समन्वयले सदस्यता अभिलेखमा रहेका त्रुटिहरू सच्याउन, नयाँ सदस्य थप्न तथा संगठनलाई थप गतिशील बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अभियानलाई प्राविधिक रूपमा प्रभावकारी बनाउन शशांकश्री न्यौपाने, नवराज त्रिपाठी, दुर्गाप्रसाद घिमिरे र शीर्षक श्रेष्ठ सम्मिलित टोलीलाई समेत परिचालन गरिएको छ । उक्त टोलीले डिजिटल फारम, डाटाबेस व्यवस्थापन तथा प्राविधिक सहजीकरणका कार्यमा सहयोग गर्नेछन।
नेपाली कांग्रेसले आगामी दुई साताभित्र सदस्यता अद्यावधिकको प्रारम्भिक विवरण सार्वजनिक गर्ने लक्ष्य लिएको जनाएको छ । प्रारम्भिक सूची सार्वजनिक भएपछि अभियानको प्रगति, उपलब्धि तथा बाँकी कार्यहरूको विस्तृत विवरण सार्वजनिक गरिनेछ ।