काठमाडौं ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी आफै प्रहरीको सम्पर्कमा जाने बताएका छन् । विशेष स्रोतका अनुसार उनी काठमाडौंमा नै रहेको र आईतवार प्रहरीको सम्पर्कमा जाने बताईएको छ ।
अर्घाखाँचीको एक कार्यक्रममा सहभागी हुन सभामुख सगैँ आईपुगेका उनी काठमाडौं फर्कने क्रममा रुपन्देहीबाट एकाएक गायब भएको समाचार बाहिर सार्वजनिक भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रायमाझीलाई पक्राउ पुर्जी जारी गरिएकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर चासो राखेका थिए । यो प्रकरणमा रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन् ।
घटनामा संलग्न आरोपमा उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे सहित ८ जना प्रहरीको हिरासतमा छन् । त्यस्तै केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । पक्राउ पुर्जी जारी भएका तिनै जना आरोपी फरार छन् ।