काठमाडौं । सिंहदरबारमा प्रमुख प्रतिपक्षी दलहरूको बैठक सुरु भएको छ। नेपाली कांग्रेसको आह्वानमा सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बसेको हो।
बैठकमा भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना, विपद्पछिको व्यवस्थापन र सर्वदलीय बैठकबाट भएका निर्णयहरूको प्रभावकारी कार्यान्वयनलगायत विषयमा छलफल भइरहेको बताइएको छ।
विपद्पछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन र सर्वदलीय सहकार्यका माध्यमबाट सरकारलाई आवश्यक सुझाव तथा दबाब दिन विपक्षी दलहरूबीच साझा धारणा निर्माण गर्ने उद्देश्यले बैठक आयोजना गरिएको जनाइएको छ।
बैठकमा नेपाली कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र प्रमुख सचेतक बासना थापा सहभागी छन्। एमालेबाट उपनेता पद्मा अर्याल र सचेतक निता घतानी सहभागी छन् भने नेकपाबाट प्रमुख सचेतक युवराज दुलाल र सांसद प्रमेश हमाल बैठकमा सहभागी भएका छन्।
त्यस्तै, श्रम संस्कृति पार्टीबाट सांसद ध्रुव राई पनि बैठकमा सहभागी छन्।
अर्को प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने बैठकमा सहभागी नभएको बताइएको छ।
भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षति र प्रभावित नागरिकहरूको उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाको विषय राष्ट्रिय प्राथमिकतामा रहेका बेला विपक्षी दलहरूको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।