काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले गत वर्ष भदौ २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त निजी क्षेत्रका संरचना पुनर्निर्माण भइसक्दा राज्यका प्रमुख संरचनाको पुनर्निर्माण भने सुस्त रहेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले भदौ २४ गते भएको तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त व्यापारिक केन्द्रहरू छोटो समयमै पुनःनिर्माण भएर सञ्चालनमा आइसकेको उल्लेख गरे।
महाराजगञ्ज र नक्सालस्थित भाटभटेनी हुँदै आफू नियमित रूपमा सिंहदरबार आउने गरेको उल्लेख गर्दै उनले निजी क्षेत्रले देखाएको पुनर्निर्माणको गति प्रशंसनीय रहेको बताए।
‘भदौ २४ को विध्वंसले खरानी बनेका व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनात्मक तरिकाले उठिसकेका छन् । निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ,’ आचार्यले भने।
तर, निजी क्षेत्रका संरचना पुनःनिर्माण भइसक्दा पनि राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र गृह मन्त्रालयको पुनर्निर्माणले अपेक्षित गति लिन नसकेको उनको भनाइ छ।
उनले सिंहदरबार प्रवेश गर्दा अझै पनि जलेका संरचना बेवारिसेजस्तै अवस्थामा देखिने गरेको बताए। नयाँ संसद् भवनमा बजेट अधिवेशन सञ्चालन गर्ने भनिए पनि त्यसअनुसार काम अघि बढ्न नसक्दा सांसदहरू अझै अस्थायी भवनबाटै आफ्ना धारणा राख्न बाध्य भएको उनले उल्लेख गरे।
आचार्यले सिंहदरबार र सार्वभौम संसद्को पुनर्निर्माणको गति नै सुस्त रहेमा विपद्पछि क्षतिग्रस्त रसुवा र नुवाकोटका संरचनाको पुनर्निर्माणप्रति नागरिकले कसरी विश्वास गर्ने भन्ने प्रश्न उठाए।
‘राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसद्को निर्माण गति यति धेरै सुस्त हुँदै गर्दा रसुवा र नुवाकोटका नागरिकले पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’ उनले प्रश्न गरे।
उनको भनाइमा, निजी क्षेत्रले विपद् वा क्षतिको सामना गरेपछि आफ्नै स्रोत, ऊर्जा र व्यवस्थापनबाट संरचना पुनःउठाउन सक्ने क्षमता देखाएको छ। तर राज्यका महत्वपूर्ण संरचनाको पुनर्निर्माणमा देखिएको ढिलाइले सरकारको प्राथमिकता र कार्यक्षमतामाथि नै प्रश्न खडा गरेको छ ।