काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको अभाव, सहज आपूर्ति तथा वितरण प्रणाली सुधारका विषयमा छलफल गर्न नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले आज विशेष बैठक बोलाएका छन्।
मन्त्री साहले आज बेलुकी ५ बजे ग्यासको आपूर्ति तथा वितरणसँग सम्बन्धित उद्योगी र सरोकारवाला निकायका प्रतिनिधिलाई मन्त्रालयमा छलफलका लागि बोलाएका हुन्।
पछिल्लो समय बजारमा एलपी ग्यासको अभाव देखिँदा उपभोक्ताहरू घण्टौँसम्म लाइनमा बस्नुपर्ने अवस्था आएको छ। कतिपय स्थानमा ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासोसमेत बढेपछि मन्त्री साहले आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राख्दै तत्काल छलफल अघि बढाउन लागेका हुन्।
मन्त्रीको सचिवालयका अनुसार बैठकमा ग्यासको आपूर्ति अवस्था, वितरण प्रणाली, बजारमा देखिएको अभाव तथा कालोबजारी नियन्त्रण लगायतका विषयमा छलफल हुनेछ।
मन्त्री साहले सम्बन्धित उद्योगी तथा निकायसँग प्रत्यक्ष छलफल गरी समस्या पहिचान गर्दै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उपायबारे आवश्यक निर्णय लिने तयारी गरेका छन्।
बजारमा ग्यासको अभावका कारण सर्वसाधारणले सास्ती खेपिरहेका बेला मन्त्रीले बोलाएको बैठकलाई तत्काल आपूर्ति सहज बनाउने प्रयासका रूपमा हेरिएको छ।