रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–६ स्थित देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने वडा सदस्यसहित ११ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार कोटगाउँबाट सानीभेरी–९ सिम्ली हुँदै सदरमुकाम खलंगातर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको जिप देउता खोलामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये सानीभेरी गाउँपालिका–६ का वडा सदस्य वलबहादुर पुन पनि रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई थप उपचारका लागि सानीभेरीबाट सुर्खेत लैजानुपर्ने अवस्था रहेकाले पालिकाले उपचार तथा उद्धार खर्च बेहोर्ने गरी हेलिकप्टरको व्यवस्था गर्न आग्रह गरिएको छ ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।