काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले काठमाडौं महानगर प्रहरी बलले राजधानीको शान्ति सुरक्षा, सडक अनुशासन, अतिक्रमण नियन्त्रण र सार्वजनिक सम्पत्तिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन्।
काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी कार्कीले संघीय राजधानी काठमाडौं राजनीतिक, आर्थिक, सांस्कृतिक, प्रशासनिक तथा पर्यटकीय गतिविधिको प्रमुख केन्द्र भएकाले यहाँ महानगर प्रहरीको जिम्मेवारी अन्य स्थानीय तहको तुलनामा विशिष्ट रहेको बताए।
उनले काठमाडौंमा संघीय सरकारका प्रमुख संरचना, कूटनीतिक नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, प्रमुख व्यापारिक केन्द्रसँगै ऐतिहासिक, धार्मिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाहरू रहेकाले सहरको व्यवस्थापनमा महानगर प्रहरीको भूमिका महत्वपूर्ण हुने बताए।
आईजीपी कार्कीले महानगर प्रहरी बलले तीन दशकभन्दा लामो समयदेखि काठमाडौं महानगरपालिकाका नीति, निर्णय तथा निर्देशन कार्यान्वयन गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण, सडक तथा फुटपाथ व्यवस्थापन, बजार र पार्किङ व्यवस्थापन, सरसफाइ तथा फोहोर व्यवस्थापन, सम्पदा संरक्षण, अतिक्रमण नियन्त्रण, वातावरण संरक्षण र सामाजिक विकृति नियन्त्रणमा निरन्तर काम गर्दै आएको उल्लेख गरे।
उनका अनुसार महानगर प्रहरी बलले नियमित शहरी व्यवस्थापनसँगै विपद्का समयमा खोज, उद्धार तथा राहत कार्यमा समेत महत्वपूर्ण योगदान दिँदै आएको छ। नेपाल प्रहरीसँगको समन्वयमा विपद् व्यवस्थापन तथा सार्वजनिक सुरक्षाका क्षेत्रमा महानगर प्रहरीको सक्रियता उल्लेखनीय रहेको उनले बताए।
सानो संख्याबाट सुरु भएको महानगर प्रहरी बल अहिले गौरवमय संगठनका रूपमा स्थापित भएको उल्लेख गर्दै कार्कीले सडक तथा फुटपाथ अतिक्रमण हटाउनेजस्ता कार्य सहज र सबैका लागि लोकप्रिय नहुने भए पनि व्यवस्थित, सुरक्षित र सुन्दर सहर निर्माणका लागि यस्ता कदम आवश्यक रहेको बताए।
उनले भने, ‘सडक तथा फुटपाथ अतिक्रमण हटाउने काम सहज र लोकप्रिय हुँदैन, तर व्यवस्थित र सुन्दर सहर निर्माणका लागि यस्ता काम आवश्यक छन्।’
कर्तव्य निर्वाहका क्रममा महानगर प्रहरीमाथि आक्रमण तथा कुटपिटका घटना हुने गरेको उल्लेख गर्दै आईजीपी कार्कीले चुनौतीका बाबजुद निरन्तर जिम्मेवारीमा खटिने महानगर प्रहरीको कार्यसम्पादन प्रशंसनीय रहेको बताए।
स्थानीय तहअन्तर्गत रहेर काठमाडौं महानगर प्रहरी बलले सक्रियता, अनुशासन र कार्यसम्पादनमार्फत उदाहरण प्रस्तुत गरेको उनको भनाइ थियो।
आईजीपी कार्कीले बदलिँदो शहरी आवश्यकता र चुनौतीअनुसार महानगर प्रहरीलाई अझ व्यावसायिक, जिम्मेवार र सेवामुखी बनाउँदै लैजानुपर्नेमा जोड दिँदै काठमाडौंको सार्वजनिक व्यवस्थापन र नागरिक सेवामा महानगर प्रहरीको भूमिका आगामी दिनमा अझ महत्वपूर्ण हुने बताए।