काठमाडौं । बाढीपहिरोपछि चिलिमे हाइड्रोपावरको विद्युत् गृहमा फसेकाहरूको खोजी तथा उद्धार जारी रहँदा आज साँझसम्मै शुभ समाचार आउन सक्ने आशा गरिएको छ।
सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले सुरुङ हुँदै विद्युत् गृहसम्म भइरहेको खोजीका क्रममा करिब ८० मिटरको दूरीमा ठूला ढुंगा र लेदोले बाटो अवरुद्ध गरेको पाइएको जानकारी दिएका छन्। अवरोध हटाउने क्रममा भित्रतर्फ खाली स्थान हुनसक्ने सम्भावना देखिएकाले उद्धारको आशा थप बलियो भएको उनको भनाइ छ।
न्यौपानेका अनुसार उद्धार टोलीले अहिले सुरुङभित्र रहेका ठूला ढुंगा र लेदो हटाउने कामलाई तीव्रता दिएको छ। उनले करिब ८० मिटरको क्षेत्रमा ठूला–ठूला ढुंगा भेटिएको र ती ढुंगा तथा लेदो धमाधम बाहिर निकाल्ने काम भइरहेको बताएका छन्।
उनका अनुसार अवरोध हटाउने काम सहज रूपमा अघि बढे आज साँझसम्म सकारात्मक खबर प्राप्त हुनसक्ने सम्भावना छ। सुरुङको बाटो ढुंगा र लेदोले बन्द भएकाले त्यसको पछाडितर्फ खाली स्थान रहेको हुनसक्ने अनुमान गरिएको छ।
“ठूला ढुंगा र लेदोका कारण बाटो बन्द भएकाले भित्रतर्फ केही खाली स्थान हुनसक्ने अनुमान गर्न सकिन्छ। यदि उद्धार तथा सफाइको काम सहज रूपमा अघि बढ्यो भने आज साँझसम्म शुभ समाचार प्राप्त हुनसक्ने आशा गर्न सकिन्छ,” न्यौपानेले बताएका छन्।
उनले उद्धारमा संलग्न टोलीको प्रयासलाई सफल बनाउन सबैलाई सकारात्मक आशा र प्रार्थना कायम राख्न आग्रह गरेका छन्।
यसअघि ऊर्जा क्षेत्रका नेता कुलमान घिसिङले पनि चिलिमे हाइड्रोपावरको विद्युत् गृहमा फसेकाहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना रहेको बताएका थिए। त्यसपछि उद्धार टोलीले सुरुङभित्र फसेकाहरूको अवस्था यकिन गर्न खोजी कार्यलाई थप तीव्र बनाएको छ।
ठूला ढुंगा र लेदोका कारण चुनौतीपूर्ण बनेको उद्धारमा अहिले मुख्य प्राथमिकता सुरुङभित्रको अवरोध हटाउँदै सम्भावित खाली स्थानसम्म पहुँच बनाउनु रहेको छ। उद्धार टोलीको पछिल्लो प्रगतिले विद्युत् गृहमा फसेकाहरूको अवस्था पत्ता लाग्ने र जीवितै उद्धारको सम्भावनातर्फ आशा जगाएको छ।