काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
भाद्र २९, २०८३ मा नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरबाट जारी शुभकामना सन्देशमा सभापति थापाले नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक भएको उल्लेख गर्नुभएको छ।
उहाँले नेपाली समाजका हरेक चाडपर्व, संस्कार र परम्पराले मौलिकता झल्काउनुका साथै पुस्तौंदेखि सामाजिक जीवन, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई जोड्दै आएको बताउनुभएको छ।
तीज नेपाली महिलाहरूको आस्था, भावना र आत्मीयतासँग जोडिएको महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै सभापति थापाले यस्ता पर्वले पारिवारिक सम्बन्धमा अपनत्व र आत्मीयता अभिवृद्धि गर्नुका साथै विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
सभापति थापाले हरितालिका तीजले सबै नेपालीको जीवनमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि र आत्मीयता थपोस् भन्ने कामना गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा पार्टी र आफ्नो तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
