पाँच सहसचिव र सात उपसचिवको हातमा जिल्लाको प्रशासनिक नेतृत्व, महिला नेतृत्वको उपस्थिति झन् बलियो
काठमाडौं । नेपालको प्रशासनिक नेतृत्वमा महिलाको उपस्थिति पछिल्ला वर्षहरूमा क्रमशः बलियो बन्दै गएको छ। यसको एउटा प्रभावशाली उदाहरण अहिले देशका विभिन्न जिल्लामा देखिएको छ-१२ जिल्लाको प्रशासनिक कमान्ड महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले सम्हालिरहेका छन्।
जिल्लामा सरकारको प्रत्यक्ष प्रतिनिधिका रूपमा काम गर्ने सिडिओको जिम्मेवारी आफैंमा चुनौतीपूर्ण मानिन्छ। शान्ति-सुरक्षा, विपद् व्यवस्थापन, सेवा प्रवाह, अन्तरनिकाय समन्वयदेखि स्थानीय प्रशासन सञ्चालनसम्मको जिम्मेवारी सम्हाल्दै महिला अधिकारीहरूले आफूलाई नेतृत्वको अग्रपंक्तिमा उभ्याएका छन्।
हाल ५ जना महिला सहसचिव र ७ जना महिला उपसचिव सिडिओको भूमिकामा छन्। यसले निजामती प्रशासनमा महिलाको नेतृत्व क्षमता र जिम्मेवारीको दायरा विस्तार हुँदै गएको स्पष्ट संकेत गरेको छ।
अहिले जिल्लाको कमान्ड सम्हालिरहेका महिला सिडिओ
पाँच जिल्लामा महिला सहसचिवको नेतृत्व सहसचिवस्तरका महिला अधिकारीले धनकुटा,धादिङ, सिन्धुली, रामेछाप, दोलखाको प्रशासनिक नेतृत्व सम्हालिरहेका छन्।
रुद्रादेवी शर्मा - धनकुटा
सहसचिव रुद्रादेवी शर्मा धनकुटाको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत छिन्। प्रशासनिक सेवामा लामो अनुभव बोकेकी शर्माले विभिन्न जिल्लामा नेतृत्वदायी जिम्मेवारी सम्हालिसकेकी छिन्।
लक्ष्मी पाण्डेय (गौतम)- धादिङ
सहसचिव लक्ष्मी पाण्डेय (गौतम) धादिङको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत छिन्।
विभिन्न निकायको कुशलता पुर्ब जिम्मेवार निभाउदै आएकी पाण्डे राजधानीसँग जोडिएको महत्वपूर्ण जिल्लाको प्रशासनिक नेतृत्व उनले सम्हालिरहेकी छन्।
स्किम श्रेष्ठ- सिन्धुली
सहसचिव स्किम श्रेष्ठ सिन्धुलीको सिडिओको जिम्मेवारीमा छिन्। सिडिओका रूपमा विभिन्न जिल्लामा जिम्मेवारी सम्हाल्दै आएकी श्रेष्ठ महिला प्रशासनिक नेतृत्वको उल्लेखनीय नाम बनेकी छिन्।
बिनु बज्राचार्य कुँबर - रामेछाप
सहसचिव बिनु बज्राचार्य कुँबर रामेछापको प्रमुख जिल्ला अधिकारी छिन्। प्रशासनिक क्षेत्रमा महिला नेतृत्वको उपस्थितिलाई बलियो बनाउने अधिकारीका रूपमा उनको भूमिका देखिएको छ।
रेखा कँडेल-दोलखा
सहसचिव रेखा कँडेल दोलखाको प्रशासनिक नेतृत्वमा छिन्। भौगोलिक तथा प्रशासनिक चुनौती बोकेको जिल्लाको शान्ति-सुरक्षा र सेवा व्यवस्थापनमा उनको जिम्मेवारी महत्वपूर्ण छ।
सात उपसचिव पनि जिल्लाको कमान्डमा महिला सहसचिवसँगै उपसचिव तहका अधिकारीहरू पनि जिल्लाको नेतृत्वमा प्रभावशाली रूपमा अगाडि आएका छन्।
बन्दना राई- तेह्रथुम
उपसचिव बन्दना राई तेह्रथुमको सिडिओको जिम्मेवारीमा रहेकी छिन्। उनको स्थानीय तहमा सरुवा भइसकेको भए पनि हालसम्मको सिडिओ भूमिकाले महिला प्रशासनिक नेतृत्वको उपस्थिति देखाएको छ।
अजिता शर्मा- मुस्ताङ
उपसचिव अजिता शर्मा मुस्ताङको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत छिन्। हिमाली जिल्लाको प्रशासनिक तथा विपद् व्यवस्थापनको चुनौतीपूर्ण जिम्मेवारी उनले सम्हालिरहेकी छन्।
कोपिला राई- रुकुम पूर्व
उपसचिव कोपिला राई रुकुम पूर्वको सिडिओको जिम्मेवारीमा छिन्। दुर्गम भूगोलमा राज्यको प्रशासनिक उपस्थिति प्रभावकारी बनाउने जिम्मेवारी उनको काँधमा छ।
जुनु हमाल ढकाल- डोल्पा
उपसचिव जुनु हमाल ढकाल डोल्पाको प्रमुख जिल्ला अधिकारी छिन्। देशकै दुर्गम जिल्लामध्ये एक डोल्पामा प्रशासनिक नेतृत्व सम्हाल्नु आफैंमा महत्वपूर्ण जिम्मेवारी हो।
वन्दनाकुमारी केसी- सल्यान
उपसचिव वन्दनाकुमारी केसी सल्यानको सिडिओको भूमिकामा छिन्। जिल्लाको शान्ति-सुरक्षा र प्रशासनिक सेवा प्रवाहमा उनको नेतृत्व रहेको छ।
कल्पना घिमिरे नेपाल- डोटी
उपसचिव कल्पना घिमिरे नेपाल डोटीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा छिन्। सहसचिवको दरबन्दी रहेको जिल्लामा उपसचिव तहकी महिला अधिकारीले प्रशासनिक नेतृत्व सम्हालिरहेकी छन्।
मिना अर्याल- बैतडी
उपसचिव मिना अर्याल बैतडीको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत छिन्। सुदूरपश्चिमको महत्वपूर्ण जिल्लाको प्रशासनिक नेतृत्वमा उनको उपस्थिति रहेको छ।
‘सिडिओको कुर्सी’मा बढ्दो महिला उपस्थिति महिला अधिकारीहरूको यो उपस्थिति केवल संख्याको विषय मात्र होइन। जिल्लाको सुरक्षा, विपद्, प्रशासन, नागरिक सेवा र राज्यका निर्णय कार्यान्वयन गर्ने तहमा महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्न थालेको संकेत पनि हो।
विशेषगरी सहसचिव तहका रुद्रादेवी शर्मा र स्किम श्रेष्ठले एकभन्दा बढी जिल्लामा सिडिओको जिम्मेवारी सम्हालिसकेका छन्। रुद्रादेवीले आधा दर्जनसम्म जिल्लाको प्रशासनिक नेतृत्व सम्हालिसकेको र स्किम श्रेष्ठले पनि विभिन्न जिल्लामा सिडिओको जिम्मेवारी पाइसकेको देखिन्छ। बिनु बज्राचार्य कुँबर पनि उक्त नेतृत्व यात्रामा अघि बढिरहेकी छिन्।
यसरी हेर्दा जिल्लाको प्रशासनिक नेतृत्वमा महिलाको उपस्थिति अब अपवाद होइन, बढ्दो नेतृत्व प्रवृत्ति बन्दै गएको देखिन्छ।
जिल्ला प्रशासनको नेतृत्वमा १२ महिला अधिकारीको उपस्थितिले नेपाली निजामती सेवामा महिला नेतृत्वको दायरा विस्तार हुँदै गएको सन्देश दिएको छ। अब प्रश्न केवल ‘महिला सिडिओ कति छन्?’ भन्ने होइन-उनीहरूले प्रशासनमा कस्तो नेतृत्व र परिणाम दिन्छन् भन्ने हो।