गण्डकी । लामो प्रतीक्षापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ। फ्लाइ दुबईको जहाज आगामी असोज ७ गते (सेप्टेम्बर २३) साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने तालिका सार्वजनिक भएको छ।
पहिलो अन्तर्राष्ट्रिय उडानलाई विशेष बनाउन विमानस्थलमा पानीको फोहरा र औपचारिक कार्यक्रमसहित फ्लाइ दुबईको जहाज तथा यात्रुलाई स्वागत गर्ने तयारी गरिएको छ। पोखरा आइपुगेको जहाजले यात्रु लिएर सोही दिन साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ।
विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार फ्लाइ दुबईले आवश्यकताअनुसार एयरबस ३१९ र ३२० प्रयोग गर्नेछ। एयरबस ३१९ मा करिब १४० देखि १५० तथा एयरबस ३२० मा १६० देखि १८० यात्रु अट्ने क्षमता रहेको छ। पहिलो उडानमा पोखरा आउने यात्रुको संख्या उल्लेख्य रहने र फर्कँदा यात्रुसँगै कार्गोसमेत लैजाने तयारी रहेको उनले बताए।
फ्लाइ दुबईले पोखरा–दुबई उडानका लागि दैनिक साँझ ६ः१५ बजे पोखरा अवतरण र ७ः१५ बजे दुबई प्रस्थान गर्ने तालिका बनाएको छ। सुरुमा एक महिनाका लागि उडान घोषणा गरिए पनि सन् २०२७ मार्च २६ सम्मको बुकिङ खुला गरिएको जनाइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाइ दुबईलाई पोखरा–दुबई नियमित उडानका लागि अनुमति दिएको थियो। सञ्चालनमा आएको तीन वर्ष बितिसक्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा फ्लाइ दुबईको आगमनलाई पोखराको पर्यटन तथा हवाई क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
दुबई हुँदै विश्वका सयौँ गन्तव्यमा जोडिँदै पोखरा
फ्लाइ दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक कोडसेयर साझेदारीका कारण पोखराबाट दुबई हुँदै अष्ट्रेलिया, युरोप, अमेरिका लगायतका विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा एउटै टिकटमार्फत यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ।
फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीका अनुसार काठमाडौँबाट हुने उडानको तुलनामा पोखराबाट दुबई जाने टिकट करिब पाँच हजार रुपैयाँसम्म सस्तो हुन सक्नेछ। कम्पनीले उडान प्रवर्द्धनका क्रममा यात्रु तथा साझेदार संस्थालाई विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने जनाएको छ।
पोखरा–दुबई उडान सफल भएमा अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसमेत पोखरातर्फ आकर्षित हुने विश्वास गरिएको छ। यसले पोखरालाई प्रत्यक्ष रूपमा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्नुका साथै पर्यटन, व्यापार, रोजगारी र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
पोखरा पर्यटन परिषद्, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका तथा निजी क्षेत्रले समेत उडानलाई दिगो बनाउन पर्यटन प्रवर्द्धन र बजारीकरणमा सहकार्य गर्ने तयारी गरेका छन्।
पर्यटन व्यवसायीहरूले लामो समयदेखि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै आएका थिए। फ्लाइ दुबईको उडान सुरु भएपछि पोखराका पर्यटकीय गन्तव्यमा विदेशी पर्यटकको प्रत्यक्ष पहुँच बढ्ने र गण्डकी प्रदेशसहित आसपासका क्षेत्रको पर्यटन व्यवसायले लाभ लिने अपेक्षा गरिएको छ।
यसअघि हिमालय एयरलाइन्सले सन् २०२५ को मार्चमा पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु गरेको थियो। तर यात्रु संख्या न्यून भएपछि उक्त सेवा हाल स्थगित छ। पोखरा–दुबई उडान भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्नेछ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा विकास गर्ने लक्ष्यसहित नियमित अन्तर्राष्ट्रिय उडान विस्तारको माग हुँदै आएको छ। फ्लाइ दुबईको उडानले पोखराको अन्तर्राष्ट्रिय हवाई पहिचान स्थापित गर्ने र काठमाडौँ केन्द्रित हवाई चाप विकेन्द्रीकरण गर्ने दिशामा नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।