काठमाडौँ । बंगालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणालीको प्रभावले आगामी असोज ८ देखि १२ गतेसम्म नेपालमा मनसुनी गतिविधि तीव्र हुने प्रक्षेपण गरिएको छ। विभिन्न अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान मोडेलले केही क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना देखाएपछि सम्भावित बाढी, पहिरो तथा सडक यातायातमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार विभिन्न अन्तर्राष्ट्रिय मौसम मोडेलको विश्लेषण गर्दा असोज ८ देखि १२ गतेसम्म नेपालमा मनसुन पुनः सक्रिय हुने संकेत देखिएको छ। केही मोडेलले उक्त अवधिमा ४०० देखि ७४१ मिलिमिटरसम्म वर्षा हुनसक्ने सम्भावना देखाएका छन्।
डा. पोखरेलले सम्भावित भारी वर्षाको सूचना त्रास फैलाउन नभई जोखिम न्यूनीकरणका लागि पूर्वतयारीको समय उपलब्ध गराउने उद्देश्यले सार्वजनिक गरिएको बताएका छन्। उनका अनुसार वर्षा देशभर समान रूपमा नपरी निश्चित भूभागमा बढी केन्द्रित हुनसक्ने देखिएको छ।
मौसम पूर्वानुमानअनुसार असोज १० गते वर्षाको जोखिम तुलनात्मक रूपमा बढी हुनसक्ने देखिएको छ। त्यसैले मौसमविद्हरूले असोज ८, ९ र १० गते सुदूरपश्चिमबाहेकका क्षेत्रमा लामो दूरीको यात्रा सकेसम्म नगर्न वा स्थगित गर्न सुझाव दिएका छन्।
यद्यपि, अहिलेको पूर्वानुमानलाई अन्तिम निष्कर्षका रूपमा लिन नहुने मौसमविद्हरूको भनाइ छ। विगतमा शक्तिशाली देखिएका मौसमी प्रणाली नेपालतर्फ अघि बढ्ने क्रममा कमजोर भएका वा आफ्नो दिशा परिवर्तन गरेका उदाहरण रहेकाले पछिल्ला मौसमी अवस्थालाई निरन्तर निगरानी गर्नुपर्ने उनीहरूको सुझाव छ।
जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित भइरहेको प्रणालीलाई सूक्ष्म रूपमा निगरानी गरिरहेको जनाएको छ। विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार मौसमी प्रणालीको विकास, गति र दिशामा परिवर्तन हुनसक्ने भएकाले नेपालमा पर्ने वर्षाको मात्रा र प्रभावबारे अहिले नै निश्चित निष्कर्ष निकाल्न सकिँदैन।
भारतीय मौसम विभागका अनुसार उत्तर थाइल्यान्ड र म्यानमार क्षेत्रमा विकसित प्रणालीको प्रभावले आगामी ४८ घण्टाभित्र उत्तर अण्डमान सागरमा न्यूनचापीय क्षेत्र बन्ने सम्भावना छ। उक्त प्रणाली मध्य बंगालको खाडीतर्फ अघि बढ्दै सेप्टेम्बर २२ सम्म डिप्रेसन वा गहिरो डिप्रेसनमा परिणत हुनसक्ने प्रक्षेपण गरिएको छ।
मौसमी प्रणाली थप विकसित भई चक्रवातमा परिणत भएमा यो सन् २०२६ मा उत्तर हिन्द महासागर क्षेत्रमा बन्ने पहिलो उष्णकटिबन्धीय चक्रवात हुनसक्ने अनुमान गरिएको छ। विश्व मौसम संगठनको नामकरण सूचीअनुसार त्यसको नाम ‘अर्नब’ राखिनेछ।
सम्भावित भारी वर्षासँगै नदीमा जलसतह बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने भएकाले स्थानीय तह तथा सम्बन्धित निकायलाई पूर्वतयारी अवस्थामा रहन आग्रह गरिएको छ। सर्वसाधारणलाई पनि आधिकारिक मौसम बुलेटिन र सूचनालाई नियमित रूपमा पछ्याउन तथा अनावश्यक जोखिम नलिन मौसमविद्हरूले सुझाव दिएका छन्।