काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन्। नेपालको आर्थिक साझेदारी, पुनर्निर्माण र लगानी विस्तारका विषयमा उच्चस्तरीय छलफल गर्ने उद्देश्यले उनी अमेरिका पुगेका हुन्।
वासिङ्टन डीसी पुगेका अर्थमन्त्री वाग्लेलाई कार्यवाहक नेपाली राजदूत शरदराज आरनसहित दूतावासका पदाधिकारीहरूले स्वागत गरेका छन्।
भ्रमणका क्रममा मन्त्री वाग्लेले सोमबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट (सेक्रेटरी अफ द ट्रेजरी) तथा विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ। भेटवार्तामा नेपाल–अमेरिका आर्थिक सहकार्य विस्तार, द्विपक्षीय सहयोग, पुनर्निर्माण, वित्तीय सुधार तथा नेपाललाई एफएटीएफको ग्रे लिस्टबाट बाहिर निकाल्ने विषयमा छलफल हुने बताइएको छ।
हालै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र विपद् उत्थानशील विकासका लागि थप अन्तर्राष्ट्रिय सहायता परिचालन गर्ने विषयलाई पनि मन्त्री वाग्लेको भ्रमणमा प्राथमिकताका साथ उठाइनेछ।
त्यस्तै, सडक तथा विद्युत् प्रसारण लाइनजस्ता महत्वपूर्ण पूर्वाधारमा लगानी बढाउँदै देशभित्र रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने वातावरण निर्माणका विषयमा विकास साझेदार तथा निजी क्षेत्रसँग छलफल हुनेछ।
अमेरिका भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) का उच्च अधिकारी तथा अमेरिकी निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
नेपालमा पूर्वाधार विकास, पुनर्निर्माण र निजी लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय स्रोत परिचालन गर्ने प्रयासका रूपमा अर्थमन्त्री वाग्लेको यो भ्रमणलाई हेरिएको छ।