दाङ । तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ ।
बुधबार बिहान करिब १० बजे गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको स्कुल बसले पैदलयात्रीलाई ठक्कर दिँदा बालक घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्दै आएका पप्पु नेपालीका छोरा आयन नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक आयनको स्थायी घर सल्यानको शारदा नगरपालिका–२ खलङ्गा हो । दुर्घटनापछि बस र चालकलाई नियन्त्रणमा लिइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।