पाब्ना (बङ्गलादेश) । बङ्गलादेश आफ्नो पहिलो आणविक ऊर्जा संयन्त्र सञ्चालनमा ल्याउने अन्तिम तयारीमा पुगेको छ । दशकभन्दा लामो निर्माणपछि पद्मा नदीको किनारमा निर्माण भइरहेको रूपपुर आणविक ऊर्जा संयन्त्र सञ्चालनमा आएपछि देशको दीर्घकालीन विद्युत् अभाव कम हुने अपेक्षा गरिएको छ । यद्यपि, संयन्त्र आसपासका बासिन्दामा आणविक सुरक्षालाई लिएर चिन्ता भने अझै कायमै छ ।
ढाकाबाट करिब १५० किलोमिटर पश्चिममा रहेको १३ अर्ब अमेरिकी डलर लागतको रूपपुर परियोजनामा २.४ गिगावाट क्षमताका दुई रिएक्टर निर्माण भइरहेका छन् । दुवै रिएक्टर पूर्ण क्षमतामा सञ्चालनमा आएपछि १७ करोडभन्दा बढी जनसङ्ख्या भएको बङ्गलादेशको कुल विद्युत् मागको १० प्रतिशतभन्दा बढी आपूर्ति गर्ने अपेक्षा गरिएको छ । अधिकारीहरूका अनुसार पहिलो रिएक्टर यसै वर्षको अन्त्यसम्म र दोस्रो रिएक्टर त्यसको करिब एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य छ ।
रुसी राज्य आणविक निगम रोसाटमसँगको सहकार्यमा निर्माण भइरहेको यो परियोजनाले बङ्गलादेशको ऊर्जा क्षेत्रमा मात्र होइन, रूपपुर आसपासको ग्रामीण अर्थतन्त्र र जनजीवनमा समेत उल्लेख्य परिवर्तन ल्याएको छ । परियोजनामा काम गर्न आएका हजारौँ रुसी कामदारका कारण स्थानीय क्षेत्रमा आवास, पसल, रेस्टुरेन्ट तथा अन्य व्यवसाय विस्तार भएका छन् । सडक तथा बजार क्षेत्रमा बङ्गाली, अङ्ग्रेजी र रूसी भाषामा लेखिएका सङ्केतपाटी देखिन थालेका छन् भने स्थानीय बासिन्दाले कामदारलाई लक्षित गर्दै तरकारी, फलफूल तथा दैनिक उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायसमेत सञ्चालन गरेका छन् ।
संयन्त्रका अधिकारीहरूले परियोजनामा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षा व्यवस्था अपनाइएको दाबी गरेका छन् । विगतका आणविक दुर्घटनाबाट प्राप्त अनुभव र सिकाइलाई परियोजनाको डिजाइन तथा सञ्चालन प्रणालीमा समेटिएको उनीहरूको भनाइ छ ।
स्थानीय युवामा भने आणविक परियोजनालाई रोजगारी र भविष्यको अवसरका रूपमा हेर्ने क्रम बढेको छ । १५ वर्षीय मोहम्मद नाफिजले रूपपुर आणविक संयन्त्रका कारण आफ्नो क्षेत्र विश्वभर परिचित हुनु खुसीको विषय भएको बताए । उनले भविष्यमा इन्जिनियरिङ अध्ययन गरी यही संयन्त्रमा काम गर्ने इच्छा व्यक्त गरे ।
तर, सबै स्थानीय बासिन्दा परियोजनाप्रति त्यति आशावादी छैनन् । ८० वर्षीय मोहम्मद युनुस अलीले घना बस्ती नजिकै आणविक सुविधा निर्माण गरिएकामा सुरक्षा चिन्ता व्यक्त गरे । केही दिनअघि कम्प्रेसर परीक्षणका क्रममा आएको ठूलो आवाजले सुतिरहेका बालबालिकासमेत डराएको उल्लेख गर्दै उनले आफ्ना सन्तान र नातिनातिनाको सुरक्षालाई लिएर चिन्ता रहेको बताए ।
“म आफ्नो जीवनका लागि डराएको छैन, तर मेरा छोराछोरी र नातिनातिनीको सुरक्षा चाहन्छु”, उनले भने ।
रूपपुरमा आणविक संयन्त्र निर्माण गर्ने योजना भने नयाँ होइन । यसको अवधारणा सन् १९६० को दशकदेखि अघि बढाइएको थियो । विभिन्न देशसँग भएको वार्ता सफल हुन नसकेपछि बङ्गलादेशले सन् २०१५ मा रुससँग परियोजना निर्माणसम्बन्धी सम्झौता गरेको थियो । परियोजनाको मूल लागतको करिब ९० प्रतिशत रकम रुसी पक्षबाट ऋणका रूपमा उपलब्ध गराउने सहमति भएको थियो ।
निर्माण कार्य सन् २०१७ मा सुरु भए पनि कोभिड–१९ महामारी तथा युक्रेनमाथि रुसको आक्रमणपछि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण उपकरण आपूर्ति र भुक्तानी प्रक्रियामा समस्या उत्पन्न हुँदा परियोजना निर्धारित समयभन्दा पछि धकेलिएको थियो ।
रूपपुर परियोजनासँग जोडेर आर्थिक अनियमितता र भ्रष्टाचारका आरोपसमेत सार्वजनिक भएका छन् । अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिना र उनका परिवारका सदस्यहरूले भने आफूहरूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएका छन् ।
परियोजनाको सुरक्षासँगै बङ्गलादेशी नागरिकको तत्कालीन चासो भने संयन्त्रबाट नियमित र भरपर्दो विद्युत् कहिलेदेखि उपलब्ध हुन्छ भन्नेमा केन्द्रित छ । लामो समयदेखि विद्युत् कटौतीको समस्या झेलिरहेका ग्रामीण क्षेत्रका बासिन्दाले रूपपुर सञ्चालनपछि विद्युत् आपूर्ति सुधार हुने अपेक्षा गरेका छन् ।
५५ वर्षीया किसान बेली बेगमले नियमित विद्युत् कटौतीका कारण सिँचाइमा समस्या हुने गरेको बताउँदै रूपपुर संयन्त्र छिट्टै सञ्चालनमा आएर त्यसको प्रत्यक्ष लाभ आफूहरूले पाउने आशा व्यक्त गरिन् ।
“हामीले २४ घण्टा नै कुनै अवरोधबिना विद्युत् पाउने आशा गरेका छौँ”, उनले भनिन् ।
बङ्गलादेशका लागि रूपपुर आणविक ऊर्जा संयन्त्र केवल ठूलो पूर्वाधार परियोजना मात्र नभई ऊर्जा सुरक्षाको नयाँ आधार बन्ने अपेक्षा गरिएको छ । तर, यसको सफलताको वास्तविक मापन भने सुरक्षित सञ्चालन, नियमित विद्युत् उत्पादन र स्थानीय जनताको विश्वास कायम गर्न सक्ने क्षमतामा निर्भर हुनेछ ।