काठमाडौँ । दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘न्यू सफल ग्लोबल कन्सल्टेन्सी’का सञ्चालक गणेश पाण्डेलाई पक्राउ गरेको छ ।
आफ्नो छोरालाई कोरिया पठाइदिने भन्दै कन्सल्टेन्सीले दुई वर्षदेखि अलपत्र पारेको आरोप लगाउँदै एक महिलाले सामाजिक सञ्जाल टिकटकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् । उनले प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष कारबाहीको माग गर्दै भिडियो सार्वजनिक गरेपछि प्रहरीले सोही आधारमा घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।
अनुसन्धानका क्रममा प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका–११ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–२६ सामाखुसी बस्ने २८ वर्षीय पाण्डेलाई असोज २० गते रानीबारी चोकबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका पाण्डेमाथि ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो तथा प्राप्त सूचनाका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ । घटनासँग सम्बन्धित थप तथ्य अनुसन्धानपछि खुल्ने प्रहरीले बताएको छ ।