काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमा जुटिसकेको बताएका छन्। निर्वाचनको मिति भने संवैधानिक व्यवस्थाअनुसार आयोगसँगको परामर्शमा सरकारले घोषणा गर्ने उनले स्पष्ट पारे।
राष्ट्रिय समाचार समिति (रासस)को प्रतिनिधिमण्डलसँग निर्वाचन आयोगमा भएको अनौपचारिक छलफलका क्रममा कार्कीले आयोग सधैँ निर्वाचनका लागि तयारी अवस्थामा रहने बताए। सरकारले तोकेको मितिमा निष्पक्ष, विश्वसनीय र विवादरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्नु आयोगको दायित्व भएकाले त्यसका लागि आवश्यक तयारी भइरहेको उनको भनाइ छ।
स्थानीय तहको आगामी निर्वाचन फागुनमै गर्नेगरी सरकार अघि बढेको भन्ने चर्चाबारे प्रश्न गर्दा कार्कीले अहिले नै निर्वाचनको मिति घोषणा वा अनुमान गर्ने अवस्था नरहेको बताए। उनका अनुसार संविधानले दिएको व्यवस्थाअनुसार आयोगसँग परामर्श गरेर सरकारले निर्वाचनको मिति तोक्नेछ।
उनले लामो समयसम्म स्थानीय तह जनप्रतिनिधिविहीन अवस्थामा राख्न नहुनेमा आयोग स्पष्ट रहेको बताए। आगामी वैशाखमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने भएकाले त्यसको आसपास संवैधानिक व्यवस्थाअनुसार निर्वाचन हुनेगरी आयोगले तयारी अघि बढाइरहेको उनले जानकारी दिए।
स्थानीय तह र प्रदेशको निर्वाचन एकैसाथ गर्ने तयारी भइरहेको हो कि भन्ने जिज्ञासामा प्रमुख निर्वाचन आयुक्त कार्कीले अहिले नै दुवै तहको निर्वाचन एकैपटक हुने निष्कर्षमा पुग्न नसकिने बताए। संविधान, कानुन र निर्वाचन व्यवस्थाको आवश्यकताअनुसार निर्वाचन प्रक्रिया अघि बढ्ने तथा सरकारले घोषणा गरेको मितिअनुसार आयोगले आफ्नो कार्यसम्पादन गर्ने उनको भनाइ थियो।
कार्कीले निर्वाचनका क्रममा सकारात्मक र निर्वाचनमैत्री वातावरण निर्माण गर्न राससले विगतमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि आयोग र राससबीच सहकार्य जारी रहने बताए।
छलफलमा निर्वाचन आयोग र राससबीचको सम्बन्ध, आगामी निर्वाचनमा सूचना प्रवाह, सहयोग तथा सहकार्यमात्रै नभई समसामयिक विषयमा समेत विचार आदानप्रदान भएको थियो।
छलफलमा निर्वाचन आयुक्त सगुन शमशेर जबरा र ध्रुवराज वाग्लेसहित राससका महाप्रबन्धक सन्दीप राई, प्रधानसम्पादक उत्तम सिल्वाल, प्रमुख समाचारदाता एकराज पाठक, आलेख समाचार शाखा प्रमुख कृष्ण अधिकारी र निमित्त प्रशासन प्रमुख भरत केसी सहभागी थिए।