काठमाडौं । नजिकिँदो चाडपर्वलाई लक्षित गरी आन्तरिक हवाई भाडा बढाइएको गुनासो बढेपछि सरकारले वायुसेवा कम्पनीहरूलाई स्वीकृत अधिकतम भाडादरभित्र रहेर मात्र टिकट बिक्री गर्न निर्देशन दिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई बोलाएर हवाई भाडाका विषयमा छलफल गरेको हो।
छलफलमा वायुसेवा कम्पनीहरूले क्यानबाट स्वीकृत अधिकतम भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री गर्ने तथा यात्रुलाई टिकटको वास्तविक मूल्यबारे स्पष्ट जानकारी गराउने सहमति भएको छ। चाडपर्वका बेला यात्रुको चाप बढ्ने भन्दै मनपरी भाडा असुल्ने प्रवृत्तिलाई नियन्त्रण गर्न क्यानले कम्पनीहरूलाई पारदर्शी रूपमा टिकट बिक्री गर्न आग्रह गरेको हो।
यात्रुले सहज रूपमा भाडादरबारे जानकारी पाउन सकून् भन्ने उद्देश्यले सम्बन्धित वायुसेवा कम्पनीहरूले आफ्नो आधिकारिक वेबसाइट तथा मोबाइल एपमा टिकटको भाडादर अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने सहमतिसमेत भएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार चाडपर्वको समयमा घर फर्किने यात्रुको चाप बढेको मौका छोपेर वायुसेवा कम्पनीहरूले अत्यधिक हवाई भाडा असुल्न थालेको भन्दै व्यापक गुनासो आएपछि सरकारले यस विषयमा चासो देखाएको हो।
नेपालमा आन्तरिक हवाई सेवाका लागि न्यूनतमदेखि अधिकतमसम्मको भाडादर निर्धारण गरिएको छ। तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयबाट २०७३ मंसिर २७ गते आन्तरिक हवाई सेवाको भाडादर निर्धारण गरिएको थियो।
क्यानले स्वीकृत भाडादरको सीमाभित्र रहेर यात्रुलाई सहज, पारदर्शी र प्रतिस्पर्धात्मक रूपमा टिकट उपलब्ध गराउन वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको छ। चाडपर्वका बेला यात्रुको बढ्दो मागलाई आधार बनाएर स्वीकृत सीमाभन्दा बढी रकम असुल्ने अवस्था आउन नदिन नियामक निकायले निगरानीसमेत बढाउने जनाएको छ।