पोखरा । पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। दुर्घटनामा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू परेका छन्। उनीहरू ट्युसन पढ्न जाँदै गरेको अवस्थामा बस दुर्घटनामा परेको हो।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये दुई जना विद्यार्थी र उपचारका लागि लिफ्ट मागेर बसमा चढेका ६५ वर्षीय बाबुराम तिवारीको पहिचान खुलेको छ। अन्य दुई मृतकको पहिचान खुल्न बाँकी रहेको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचारका लागि पुर्याइएका घाइतेमध्ये अस्मी कँडेल गम्भीर घाइते भएकी छन्। उनको टाउको र ढाडमा चोट लागेको अस्पतालले जनाएको छ। अन्य घाइते विद्यार्थी तथा चालकको टाउको, ढाड, छाती, कम्मर र हातखुट्टामा चोट लागेको छ।
गण्डकी अस्पतालमा उपचार भइरहेका घाइतेहरूमा स्नेहा गौतम, सोनिया तिवारी, अंकित पराजुली, स्मृति खत्री, स्नेहा तिवारी, आकृती बुढाथोकी, मेरिना तिवारी, सुप्रिया आचार्य र यमन मगर रहेका छन्। बस चालक तुलबहादुर गुरुङ पनि घाइते भएका छन्। उनको ढाड र छातीमा चोट लागेको छ।
त्यस्तै, गण्डकी मेडिकल कलेजमा उपचार भइरहेका विद्यार्थीहरूमा सृष्टि तिवारी, शिसन थापा मगर र सौगात तिमिल्सिना रहेका छन्। उनीहरू बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ। तीनै जनाको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ।
दुर्घटनापछि उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत ३१ वर्षीय प्रहरी जवान अर्जुन शाहीसमेत सामान्य घाइते भएका छन्। उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा पाँच जनाको ज्यान गएपछि पोखरा–२८ र आसपासका क्षेत्रमा शोक छाएको छ। दुर्घटनाको कारणबारे भने थप विवरण आउन बाँकी छ। मृतकको पूर्ण पहिचान र घटनासम्बन्धी थप विवरण प्राप्त भएपछि समाचार अद्यावधिक गरिनेछ।