गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदी पुनः थुनिएको छ। पछिल्लो १५ मिनेटदेखि नदीमा जलप्रवाह नदेखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिएका छन्। नदीको बहाव रोकिएसँगै तल्लो तटीय क्षेत्रमा पुनः बाढी आउन सक्ने जोखिम बढेको छ।
यसअघि आएको बाढीले चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा ठूलो क्षति पुर्याएको थियो। पैयू र बगर गाउँका ३५ घर बगाएको बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरीलगायतका बस्तीमा समेत व्यापक क्षति पुर्याएको छ।
आइतबार बिहान करिब ४ बजे बाढी बस्तीमा पसेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन सुरक्षित स्थानतर्फ लागेका थिए। बाढीबाट प्रभावित क्षेत्रका बासिन्दा जोखिममा रहेका बेला नदी पुनः थुनिएपछि थप विपद् निम्तिन सक्ने चिन्ता बढेको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले नदी आसपास तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलका अनुसार सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ।
नदी थुनिएको अवस्थामा पानी जम्मा भएर एक्कासि बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरिएको छ।