गोरखा । गोरखामा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पक्की पुल बगाएको छ। बाढीले विभिन्न बस्तीका घर तथा टहरामा समेत क्षति पुर्याएपछि स्थानीय क्षेत्रमा आवागमन र जनजीवन प्रभावित भएको छ।
प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल र धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको हो। यसैगरी, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको प्रहरीले जनाएको छ।
चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि एक्कासि आएको बाढीले जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको हो।
बाढीले चुमनुब्री गाउँपालिका–३ सिर्दिबासका रामबहादुर गुरुङको एउटा कच्ची घर पूर्ण रूपमा बगाएको छ भने अर्को घरमा समेत बाढी पसेको प्रहरीले जनाएको छ।
त्यस्तै, धार्चे गाउँपालिका–५ माछिखोलाको तल्लो बस्तीमा बाढी पसेर ५ देखि ७ वटासम्म घर र त्यति नै संख्यामा टहरामा क्षति पुगेको प्रारम्भिक विवरण छ।
तीनवटा पुल बगाउँदा स्थानीय बासिन्दाको आवागमन प्रभावित भएको छ। बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। नदी थुनिएपछि पुनः बाढी आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।