काठमाडौँ । बुढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि पुगेपछि बाढी पूर्वानुमान महाशाखाले चितवन र नवलपरासी आसपासका नदी तटीय क्षेत्रका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार बुढीगण्डकी नदीमा जलसतह बढ्ने र घट्ने क्रम जारी रहेकाले जोखिम कायमै छ। त्रिशूली नदीको बेनिघाटसम्मको क्षेत्रमा अति उच्च जोखिम रहेकाले स्थानीय बासिन्दालाई सुरक्षित तथा अग्लो स्थानमा जान आग्रह गरिएको छ।
त्यस्तै, त्रिशूली नदीको मुग्लिनसम्मको क्षेत्रमा उच्च जोखिम रहेकाले विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा पनि मध्यम जोखिम रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत रहन भनिएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनारमा नजाने, जलसतहको अवस्था निरन्तर निगरानी गर्ने र जोखिम देखिएमा सुरक्षित स्थानमा सर्न महाशाखाले आग्रह गरेको छ।