काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा कप्तान रोहित पौडेलको शतकीय इनिङ्सको मद्दतमा नेपालले २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
ओमानको अल अमिरातमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रन बनायो। नेपालका लागि रोहित पौडेलले १२६ बलमा १०१ रनको उत्कृष्ट इनिङ्स खेले। उनले आफ्नो पारीमा आठ चौका र एक छक्का प्रहार गरे।
यस्तै, गुलशन झाले ४८ रन बनाउँदा बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रनको योगदान दिए।
नेपाललाई मध्यम योगफलमा रोक्ने क्रममा क्यानडाका अखिल कुमारले चार विकेट लिए। सुखजिन्दर सिंहले तीन तथा जाहिद सिर्जादले दुई विकेट हात पारे।
रोहितको शतकसँगै नेपालले क्यानडासामु २३६ रनको लक्ष्य राखेको छ। अब जितका लागि क्यानडाले निर्धारित ५० ओभरमा २३६ रन बनाउनुपर्नेछ।