काठमाडौं । गोरखाको चुमनुव्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खस्दा बूढीगण्डकी नदी थुनिएर आएको लेदोसहितको बाढीले गोरखाका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ। बाढीले घर, झोलुङ्गे पुल, पक्की पुल, विद्युत् पोल, टेलिफोन टावर तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्याएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता तथा उपसचिव शान्ति महतका अनुसार बाढीले चुमनुव्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। सोही क्षेत्रमा एउटा घर पूर्ण रूपमा बगाएको छ भने अर्को घरमा बाढी पसेको छ।
त्यस्तै, धार्चे गाउँपालिका–५ मा माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालिको संरचनामा क्षति पुग्नुका साथै आसपासका सातदेखि आठवटा घरसमेत बगाएको प्राधिकरणले जनाएको छ।
बाढीको प्रभाव आरुघाट क्षेत्रमा समेत देखिएको छ। आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाएको छ। तीन भागमा रहेको उक्त पुलमा क्षति पुगेपछि आवागमन प्रभावित भएको छ। आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पुल पनि बाढीले बगाएको छ।
माछिखोलाको तल्लो बस्तीमा बाढी पसेपछि थप जोखिम बढेको छ। त्यहाँका २० देखि २२ वटा घर जोखिममा रहेको प्राधिकरणले जनाएको छ। यसैगरी, ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणसमेत बाढीले बगाएको छ।
प्राधिकरणका अनुसार बाढीले दुईवटा टेलिफोन टावर र करिब ५० वटा विद्युत् पोलमा समेत क्षति पुर्याएको छ। बाढीका कारण विभिन्न पूर्वाधारमा क्षति पुगेपछि स्थानीय आवागमन, सञ्चार तथा विद्युत् सेवामा समेत असर पर्न सक्ने देखिएको छ।
बूढीगण्डकी नदीमा आएको बाढीबाट थप क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले नदी तटीय क्षेत्रका बासिन्दालाई आज साँझसम्म नदी किनार र जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। साथै, जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन अनिवार्य रूपमा पालना गर्न अनुरोध गरेको छ।
