काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज नौ दुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। देशभरका दुर्गा मन्दिर तथा शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिअनुसार घटस्थापना गरी दसैँ घर तथा पूजा कोठामा जमरा राखिएको थियो। सोही दिन पहिलो नवदुर्गा शैलपुत्रीको पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज घटस्थापना गरिएको स्थानमा ब्रह्मचारिणी देवीको आह्वान गरी विधिपूर्वक पूजा गरिँदैछ।
धार्मिक मान्यताअनुसार ब्रह्मचारिणी देवी तपस्या, त्याग, संयम र साधनाको प्रतीक हुन्। ब्रह्मको बोध गराउन निरन्तर साधनामा लागिरहने स्वरूपका रूपमा उनलाई नवदुर्गामध्ये दोस्रो देवी मानिएको छ। नवरात्रमा देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती अर्थात् चण्डी, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रको पाठ गर्ने परम्परा छ। वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा भवानीको विशेष पूजा आराधना गर्छन्।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको चहलपहल बढेको छ। काठमाडौँको हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि राज्यका तर्फबाट विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।
नौ दिनसम्म देवीको आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसाद र टीका ग्रहण गर्ने परम्परा छ। धार्मिक आस्था, शक्ति उपासना र पारिवारिक मिलनको पर्वका रूपमा मनाइने बडादसैँले नेपाली समाजमा सांस्कृतिक एकता र सद्भावको सन्देशसमेत प्रवाह गर्दै आएको छ।