काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका छन्।
विश्वभरका अर्थमन्त्री तथा आर्थिक क्षेत्रका उच्च अधिकारी सहभागी हुने उक्त बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ भन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम रहेको छ। बैठकलाई नेपालको आर्थिक विकास, अन्तर्राष्ट्रिय सहकार्य तथा आर्थिक सम्बन्ध विस्तारका विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ।
अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि बैंकक गएका छन्।
अर्थमन्त्री वाग्ले आगामी कात्तिक ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।