कास्की । दसैँलाई लक्षित गर्दै पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन् । हिमाली जिल्लाबाट व्यापारीले बिक्रीका लागि भेडाच्याङ्ग्रा ल्याएसँगै पोखराका सिमपानी र हेमजामा दसैँको किनमेल चहलपहल बढ्न थालेको छ ।
पोखरा महानगरपालिका पशु सेवा शाखाका अनुसार मुस्ताङबाट मात्रै नौ हजार भेडाच्याङ्ग्रा ल्याइएको छ । त्यस्तै, दार्चुलाबाट दुई हजार, बझाङबाट एक हजार ८०० तथा बाजुरा र डोल्पाबाट एक–एक हजार भेडाच्याङ्ग्रा पोखरा आइपुगेका छन् । अझै केही भेडाच्याङ्ग्रा बाटोमै रहेकाले फूलपातीभन्दा एक–दुई दिन अगाडिसम्म बजारमा थपिने अनुमान गरिएको छ ।
पोखरा महानगरपालिका–१ सिमपानी र वडा नं. २५ हेमजामा भेडाच्याङ्ग्राको हाटबजार सञ्चालनमा छन् । कतिपय व्यापारीले बजारमा भेडाच्याङ्ग्रा बिक्रीका लागि राखिसकेका छन् भने केहीले पोखरावरपरका चरन क्षेत्रमा राखेका छन् ।
महानगरपालिकाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार दसैँका लागि भेडाच्याङ्ग्रा पोखरा आइपुग्ने क्रम जारी छ । गण्डकी प्रदेशका अन्य जिल्लाबाट समेत स्थानीय भेडा बिक्रीका लागि पोखरा ल्याउने गरिन्छ ।
यसैबीच, दसैँमा ठूलो संख्यामा पशु भित्रिएसँगै तिनको स्वास्थ्य अवस्था र रोगको जोखिमलाई ध्यानमा राखेर अनुगमन सुरु गरिएको छ । पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्की र पशु क्वारेन्टाइन कार्यालय पोखराको संयुक्त टोलीले बजारमा रहेका भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण तथा बिक्री वितरणको अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा अधिकांश पशु स्वस्थ पाइएको टोलीले जनाएको छ । फूलपातीसम्म अनुगमन जारी रहनेछ ।
व्यापारीले भेडाच्याङ्ग्रा ढुवानी गर्नुअघि सम्बन्धित जिल्लाका पशु सेवा कार्यालयबाट स्वास्थ्य परीक्षण गराई प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ । अनुगमनका क्रममा बिरामी पशु भेटिएमा अन्य पशुबाट अलग राख्न आइसोलेसनको व्यवस्था गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीका प्रमुख डा. ग्रिष्म न्यौपानेले उपभोक्तालाई भेडाच्याङ्ग्रा खरिद गर्दा स्वास्थ्य अवस्थाबारे ध्यान दिन आग्रह गरेका छन् । उनका अनुसार सामान्य अवस्थामा श्वासप्रश्वासको गति असामान्य रूपमा नबढेको, र्याल नकाढेको र रौँ चिल्लो भएको पशु छनोट गर्नु उपयुक्त हुन्छ ।
लामो दूरी हिँडाएर वा गाडीमा ल्याइएका भेडाच्याङ्ग्रा खरिद गरेपछि तत्काल बध गर्नुभन्दा कम्तीमा २४ घण्टाअघि घरमा ल्याएर राख्नु राम्रो हुने डा. न्यौपानेको सुझाव छ ।
महानगरपालिकाको पशु सेवा शाखाका अनुसार पोखराको हाटबजारमा च्याङ्ग्रा प्रतिकेजी एक हजार २५० रुपैयाँसम्म र भेडा प्रतिकेजी ७०० रुपैयाँमा बिक्री भइरहेको छ । हिमाली क्षेत्रमा चिसो हावापानीमा हुर्किएका च्याङ्ग्राको मासु दसैँका बेला पोखरा तथा आसपासका क्षेत्रमा विशेष रुचाइने भएकाले माग उच्च हुने गरेको छ ।
यद्यपि, यस वर्ष भेडाच्याङ्ग्रा पोखरा ल्याउन व्यापारीले ढुवानीमा कठिनाइ भोग्नुपरेको बताएका छन् । मुगुका व्यापारी नवराज देवकोटाले हुम्लाबाट ११ दिन लगाएर च्याङ्ग्रा पोखरा ल्याएको बताए । केही दूरी पैदल र केही दूरी गाडीमा यात्रा गराएर पशु ल्याइएको उनले जानकारी दिए ।
अविरल वर्षा र पहिरोका कारण यस वर्ष ढुवानीमा विगतका वर्षभन्दा बढी समस्या भएको उनको भनाइ छ । “यसपटक कहिले पानीले सतायो, कहिले बाढीले समस्या भयो । पहिले बजार राम्रो थियो, अहिले बजार पनि राम्रो छैन,” उनले भने ।
ढुवानीका क्रममा विभिन्न स्थानीय तह तथा पशु सेवा कार्यालयमा बुझाउनुपर्ने शुल्क र चरनका लागि लाग्ने खर्चसमेत जोडिँदा च्याङ्ग्राको मूल्य महँगो पर्ने व्यापारी बताउँछन् । पोखरामा भेडाच्याङ्ग्रासँगै सुर्खेत, अर्घाखाँची, दाङ, पाल्पा र तनहुँलगायतका जिल्लाबाट खसीबोका पनि बिक्रीका लागि ल्याइने गरिएको छ ।