काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच द्विपक्षीय भेटवार्ता भएको छ। भारतको नयाँ दिल्लीमा भएको भेटवार्तामा दुई देशका साझा सुरक्षा चासो तथा नेपाली उद्योगी–व्यवसायीले भारतीय बजारमा भोग्दै आएका समस्याबारे छलफल भएको छ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को प्रथम गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन नयाँ दिल्ली पुगेका गृहमन्त्री गुरुङले भारतीय समकक्षी शाहसँग भेट गरेका हुन्।
गृह मन्त्रालयका अनुसार भेटवार्तामा नेपाल र भारतबीच साझा सुरक्षा चासोका विषयमा समन्वय र सहकार्यलाई थप सुदृढ बनाउनेबारे विचारविमर्श भएको थियो।
भेटका क्रममा गृहमन्त्री गुरुङले नेपाली उद्योगी तथा व्यवसायीले भारतीय बजारमा पहुँचका लागि भोग्दै आएका प्राविधिक समस्याप्रति पनि ध्यानाकर्षण गराएका थिए। विशेषगरी भारतीय मानक ब्युरो (बीआईएस) प्रमाणीकरणलगायतका प्रक्रियामा देखिएका समस्याको समाधानका लागि उनले चासो व्यक्त गरेका थिए।
नेपालले उठाएका विषयमा भारतीय गृहमन्त्री शाहबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको गृह मन्त्रालयले जनाएको छ। यसले नेपाली उत्पादनको भारतीय बजारमा पहुँच सहज बनाउन र दुई देशबीच आर्थिक सहकार्य विस्तार गर्न थप संवादको बाटो खोल्ने अपेक्षा गरिएको छ।
बिम्स्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ सोमबार नयाँ दिल्ली प्रस्थान गरेका थिए। उनी यही असोज २८ गते बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।