बागलुङ । दसैँमा हिमाली च्याङ्ग्राको मासु खाने परम्परा र कोसेलीका रूपमा लैजाने चलनले मूल्य आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग घटेको छैन। हिमपात, बाढीपहिरो र सडक अवरोधका कारण आयात घटेपछि च्याङ्ग्राको मूल्य बढेको व्यापारीले बताएका छन्।
घटस्थापनापछि बागलुङ भित्रिएका च्याङ्ग्राको मूल्य अहिले प्रतिगोटा ४५ हजारदेखि ५० हजार रुपैयाँसम्म पुगेको छ। डोल्पा र मुस्ताङबाट २५ दिनको पैदलयात्रा गरेर च्याङ्ग्रा बिक्रीका लागि आएका तेन्जिङ तार्के तामाङका अनुसार गोठबाटै एउटा च्याङ्ग्राको मूल्य ३२ हजारदेखि ३७ हजार रुपैयाँसम्म पर्छ।
उनले यसपटक २०० च्याङ्ग्रा ल्याएकामा १०० बागलुङ र १०० पोखरा पठाएका छन्। तीन वर्षदेखि च्याङ्ग्राको कारोबार गर्दै आएका तामाङले हिमपातका कारण ढुवानीमा समस्या भए पनि माग नघटेको बताए। उनका अनुसार मुख्य बजार पोखरा हो।
बागलुङका व्यापारी बलबहादुर थापाले च्याङ्ग्राको मासु प्रतिकिलो २ हजार २०० रुपैयाँमा बिक्री भइरहेको जानकारी दिए। मूल्य बढेकाले यस वर्ष थोरै च्याङ्ग्रा ल्याएको उनको भनाइ छ। च्याङ्ग्राको मूल्य महँगो भएपछि सबै उपभोक्ताको पहुँचमा नपुगे पनि दसैँमा यसको माग कायम रहेको व्यापारी बताउँछन्।
मुस्ताङको छोसेर, कागबेनी, चमरलगायत हिमाली क्षेत्रबाट च्याङ्ग्रा ल्याउने गरिन्छ। दसैँ र तिहारमा विशेष माग हुने च्याङ्ग्रा स्वादिलो र पोषिलो हुने उपभोक्ताको विश्वास छ।
मुस्ताङबाट यस वर्ष ११ हजार ७०० च्याङ्ग्रा र दुई हजार २१५ भेडाको स्वास्थ्य परीक्षण गरी अन्य जिल्लामा पठाइएको छ। तीमध्ये म्याग्दी र बागलुङ हुँदै पोखरा तथा काठमाडौंका बजारमा च्याङ्ग्रा पुर्याइने गरिएको छ।