काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक अभावका कारण दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका छन् । बडादसैँको शुभकामना सन्देश दिँदै उनले देशको समृद्धि, सुशासन र आमनागरिकको सुखद जीविकाका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका हुन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै आर्थिक सम्पन्नताले नै चाडपर्वको रौनक बढाउने बताएका छन् । बाध्यताले विदेशिनुपर्ने र चाडपर्वमा समेत परिवारसँग भेटघाट गर्न नपाउने लाखौँ नेपालीको नियति बदल्न सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ छ ।
उनले नेपाली समाजमा सदियौँदेखि विशेष महत्त्व राख्दै आएको बडादसैँलाई धार्मिक, सामाजिक तथा सांस्कृतिक रूपमा एकता, आत्मीयता र पारिवारिक मिलनको पर्वका रूपमा व्याख्या गरेका छन् । टीका र जमरा ग्रहण गरी ठूलाबाट आशीर्वाद लिने परम्पराले सानालाई माया र ठूलालाई आदर गर्ने नेपाली मौलिक संस्कृतिलाई प्रतिबिम्बित गर्ने उनले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहले देशभित्र तथा विदेशमा रहेका नेपालीलाई एकताबद्ध गर्ने दसैँले हरेक घरपरिवारमा उत्सव, उमङ्ग र खुसी ल्याओस् भन्ने कामना गरेका छन् । उनका अनुसार दसैँ पारिवारिक भेटघाट, आत्मीयजनसँगको भलाकुसारी र सांस्कृतिक परम्पराको निरन्तरतासँगै आर्थिक गतिविधि चलायमान बनाउने महत्त्वपूर्ण पर्व पनि हो ।
यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायतका जिल्लामा भएका विनाशकारी विपद्को पीडा र शोकबीच दसैँ आएको स्मरण गर्दै प्रधानमन्त्री शाहले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले तदारुकताका साथ काम गरिरहेको जानकारी दिएका छन् ।
विगतमा विनाशकारी भूकम्प, कोभिड–१९ महामारी तथा विभिन्न राजनीतिक र सामाजिक सङ्कटका बीच पनि नेपालीले आफ्नो धार्मिक, सांस्कृतिक तथा सामाजिक परम्परालाई निरन्तरता दिँदै आएको उनले बताएका छन् । कठिन परिस्थितिमा समेत चाडपर्वले नेपाली समाजलाई जोड्ने र मौलिक पहिचान जोगाउने काम गरेको उनको सन्देश छ ।
दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा स्मरण गर्दै प्रधानमन्त्री शाहले प्रत्येक व्यक्तिले आफूभित्रका नकारात्मक प्रवृत्तिमाथि विजय प्राप्त गर्नुपर्नेमा जोड दिएका छन् । काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारजस्ता मानवीय दुःखका प्रमुख कारणलाई त्याग्दै सत्यको बाटोमा अघि बढ्न उनले सबैलाई आह्वान गरेका छन् ।
उनले समाजमा सत्यको स्थापना, सुशासनको प्रवर्द्धन र सकारात्मक प्रवृत्तिको विकास दसैँको मूल सन्देश हुनुपर्ने बताएका छन् । माता दुर्गाभवानीको कृपा र सत्प्रेरणाले सबैलाई सत्य तथा सुशासनको मार्गमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामनासमेत उनले गरेका छन् ।
चाडपर्वका बेला पनि परिवारसँग मिलन हुन नसक्ने र आर्थिक कठिनाइका कारण निराश हुनुपर्ने अवस्थाको अन्त्य गर्न सबैको सहकार्य आवश्यक रहेको प्रधानमन्त्री शाहको भनाइ छ । देशको आर्थिक समृद्धि र नागरिकको जीवनस्तर सुधारलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले आर्थिक कारणले कसैले पनि दसैँको खुसीबाट वञ्चित हुन नपरोस् भन्ने भाव व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले सम्पूर्ण नेपालीमा आरोग्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सभ्य, भव्य र उल्लासपूर्ण रूपमा बडादसैँ मनाउन अपिल गरेका छन् ।