काठमाडौँ । नेपाली क्रिकेटको चर्चित फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि काठमाडौँमा सुरु हुँदैछ। त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताले फेरि एकपटक नेपाली क्रिकेटप्रेमीमाझ उत्साह थप्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। यी दुई टोलीबीचको प्रतिस्पर्धा आज अपराह्न साढे चार बजे सुरु हुनेछ।
तेस्रो संस्करणमा पनि अघिल्ला संस्करणकै आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससँगै जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स प्रतियोगितामा सहभागी छन्।
प्रतियोगिता सिंगल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ। त्यसपछि इलिमिनेटर र क्वालिफायर चरण हुँदै मङ्सिर ५ गते फाइनल खेल हुनेछ। फाइनलसँगै तेस्रो संस्करणको च्याम्पियन टोलीको टुङ्गो लाग्नेछ।
एनपीएलका सबै खेलको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्ट्स (हिमालय टेलिभिजन) ले गर्नेछ। यसबाट मैदानमा उपस्थित हुन नसक्ने दर्शकले पनि प्रतियोगिताका खेल प्रत्यक्ष हेर्न सक्नेछन्।
घरेलु तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिताले नेपाली क्रिकेटको प्रतिस्पर्धात्मक स्तर उकास्ने अपेक्षा गरिएको एनपीएललाई क्रिकेटको व्यावसायिक विकास, खेलाडीको क्षमता अभिवृद्धि र नेपाली क्रिकेटको ब्रान्ड विस्तारका दृष्टिले महत्त्वपूर्ण प्रतियोगिताका रूपमा हेरिएको छ। उद्घाटन खेलमै साविक विजेता र उपविजेता भिड्ने भएपछि प्रतियोगिताको सुरुआत रोमाञ्चक हुने अपेक्षा गरिएको छ।