काठमाडौं । नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी प्रधान कार्यालय काठमाडौंमा बोलाइएको छ। प्रहरी समन्वय समिति (पीसीसी) को बैठकमा सहभागी हुन प्रदेश प्रहरी प्रमुखहरूलाई काठमाडौं उपस्थित हुन निर्देशन दिइएको हो।
प्रहरीका एक उच्च अधिकारीका अनुसार प्रदेश प्रहरी प्रमुखहरू काठमाडौं आउने क्रम जारी छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको अध्यक्षतामा आज दिउँसो २ बजे पीसीसी बैठक बस्ने तय भएको छ।
प्रहरी संगठनको महत्त्वपूर्ण निर्णय प्रक्रियामा भूमिका खेल्ने बैठकमा देशभरको शान्ति सुरक्षाको अवस्था, संगठनको आन्तरिक व्यवस्थापन तथा समसामयिक सुरक्षा चुनौतीका विषयमा छलफल हुने बताइएको छ। सातै प्रदेशका प्रहरी प्रमुखको सहभागितामा हुने बैठकलाई संगठनको समग्र सुरक्षा व्यवस्थापन र कार्यसम्पादनको समीक्षा गर्ने अवसरका रूपमा हेरिएको छ।
यसैबीच, प्रधानमन्त्री बालेन शाहको सचिवालयबाट राजीनामा दिन दबाब दिइएको भन्ने समाचार सार्वजनिक भइरहेका बेला आईजीपी कार्कीले सातै प्रदेशका डीआईजीलाई एकैपटक काठमाडौं बोलाएपछि बैठकलाई चासोका साथ हेरिएको छ। यद्यपि, बैठकमा राजीनामासम्बन्धी विषयमा छलफल हुने वा त्यसको उद्देश्य त्यही रहेको भन्नेबारे आधिकारिक पुष्टि भएको छैन।
बैठकका निर्णय तथा छलफलका विषय सार्वजनिक भएपछि प्रहरी संगठनको आगामी कार्यदिशाबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।