काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले ८० जना कर्मचारी स्थायी रूपमा भर्ना गर्ने भएको छ। कम्पनीले खुला तथा समावेशी प्रतिस्पर्धामार्फत विभिन्न १३ प्रकारका पदमा कर्मचारी नियुक्त गर्न दरखास्त आह्वान गरेको हो।
कम्पनीको पदपूर्ति समितिले सार्वजनिक गरेको विज्ञापनअनुसार नवौँ तहको उपप्रबन्धकदेखि तेस्रो तहको जुनियर टेक्निसियनसम्मका पदमा आवेदन खुलाइएको छ। लोक सेवा आयोगको सहमतिमा कर्मचारी विनियमावली, २०७८ (संशोधनसहित) अनुसार पदपूर्ति प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ।
विज्ञापनअनुसार सबैभन्दा धेरै चौथो तहको सहायक पदमा १७ जना र तेस्रो तहको जुनियर टेक्निसियनमा १२ जना माग गरिएको छ। त्यस्तै, सातौँ तहको टेलिकम इन्जिनियर (कम्प्युटर) मा १० जना, छैटौँ तहको सहायक प्रशासनिक अधिकृत र चौथो तहको टेलिकम टेक्निसियनमा नौ–नौ जना तथा छैटौँ तहको सहायक व्यापार अधिकृतमा आठ जना नियुक्त गरिनेछ।
यसैगरी, सातौँ तहका टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन) र इलेक्ट्रिकल इन्जिनियरमा तीन–तीन जना, पाँचौँ तहको ओभरसियरमा तीन जना तथा छैटौँ तहको सहायक लेखा अधिकृतमा दुई जनाका लागि आवेदन माग गरिएको छ।
नवौँ तहको उपप्रबन्धक (चार्टर्ड एकाउन्टेन्ट), आठौँ तहको वरिष्ठ इन्जिनियर (टेलिकम), वरिष्ठ व्यापार अधिकृत र वरिष्ठ लेखा अधिकृतमा भने एक–एक जना नियुक्त गरिने कम्पनीले जनाएको छ।
अनलाइनबाटै आवेदन दिन सकिने
नेपाल टेलिकमले तोकिएको शैक्षिक योग्यता तथा अन्य मापदण्ड पूरा गरेका इच्छुक नेपाली नागरिकबाट अनलाइन आवेदन माग गरेको छ।
उम्मेदवारले कम्पनीको आधिकारिक वेबसाइट www.ntc.net.np वा recruit.ntc.net.np मार्फत आवेदन दिन सक्नेछन्।
आवेदनका क्रममा नेपाली नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, हस्ताक्षरको नमुना र शैक्षिक योग्यताका प्रमाणपत्र अपलोड गर्नुपर्नेछ। आवश्यकताअनुसार तालिम, कार्यअनुभव तथा समावेशी समूहमा पर्ने उम्मेदवारले सम्बन्धित प्रमाणसमेत पेस गर्नुपर्ने कम्पनीले जनाएको छ।
यस भर्ना प्रक्रियामार्फत प्राविधिक, प्रशासनिक, लेखा तथा व्यापारिक क्षेत्रका विभिन्न तहमा जनशक्ति थपिनेछ।