काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। बाढीले मोटरेबल पुल बगाउनुका साथै पहिरो खस्दा मुख्य सडकमा यातायात पूर्ण रूपमा ठप्प भएको छ।
गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पुल बुढीगण्डकी नदीको बाढीले बगाएपछि दुई वडाबीचको सडक सम्पर्क विच्छेद भएको छ।
त्यस्तै, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थली र वडा नं. ८ को गिम्दीबेँसीमा पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
यता सुर्खेतको बराहताल गाउँपालिका–७ स्थित औलिसेमासुक्खामा पहिरो खसेपछि कर्णाली राजमार्गसमेत पूर्ण रूपमा बन्द भएको छ।
यसैबीच, सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै मकवानपुर र ललितपुर जोड्ने कान्तिलोकपथमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।
बाढीपहिरोका कारण विभिन्न जिल्लाका सडक तथा यातायात प्रभावित भएपछि यात्रु र स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ। अवरुद्ध सडक खुलाउने तथा जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने अवस्था देखिएको छ।