काठमाडौं । सरकारले युवाहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको व्यावहारिक ज्ञान र सीप प्रदान गर्न निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले कात्तिक १८ र १९ गते ‘एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन’ विषयमा तालिम सञ्चालन गर्न लागेको हो।
चार सत्रमा सञ्चालन हुने तालिममा कुल २ हजार युवाले सहभागिता जनाउन पाउनेछन्। बिहान १० बजेदेखि १२ बजेसम्म र साँझ ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने प्रत्येक सत्रमा ५०० जनालाई सहभागी गराइनेछ।
तालिममा सहभागी युवाले ChatGPT र Claude लगायतका एआई उपकरणको प्रयोग, प्रभावकारी प्रम्प्ट लेखन, इमेल तथा प्रस्तुतीकरण निर्माण, तस्बिर र भिडियो सिर्जना तथा एआईबाट प्राप्त सूचनाको सत्यता परीक्षण गर्ने व्यावहारिक सीप सिक्न पाउनेछन्।
अध्ययन, रोजगारी र व्यावसायिक क्षेत्रमा एआई प्रविधिको बढ्दो उपयोगलाई मध्यनजर गर्दै युवालाई प्रविधिमैत्री र दक्ष बनाउने उद्देश्यले तालिम आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ।
तालिममा सहभागी हुन इच्छुक युवाले यहाँ क्लिक गरी अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन दिएका युवामध्ये छनोट हुने सहभागीलाई तालिमको सत्रबारे आवश्यक जानकारी उपलब्ध गराइने प्रतिष्ठानले जनाएको छ।