सुर्खेत । चक्रवात ‘अर्नब’को प्रभावले परेको भारी हिमपातका कारण डोल्पामा दुई महिलासहित ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्। उनीहरू शे–फोक्सुन्डो गाउँपालिकाको नुमला पास र वागला पास क्षेत्रमा हराएका हुन्।
डोल्पोबुद्ध गाउँपालिकाको धो क्षेत्रबाट फोक्सुन्डो तालतर्फ जाने क्रममा प्रतिकूल मौसम र अत्यधिक हिमपातका कारण पर्यटकहरू बाटोमै फसेको आशंका गरिएको छ।
प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार सम्पर्कविहीन पर्यटकहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनाको टोली परिचालन गरिएको छ। उद्धार कार्यलाई प्रभावकारी बनाउन हेलिकप्टरसमेत माग गरिएको छ।
सम्पर्कविहीन हुनेमा दुई महिला र चार पुरुष रहेका छन्। उक्त क्षेत्रमा सञ्चार सुविधा नहुँदा उनीहरूको वास्तविक अवस्था र अवस्थिति पत्ता लगाउन कठिनाइ भइरहेको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार हाल उपल्लो डोल्पामा २४४ जना पर्यटक रहेका छन्। मौसम प्रतिकूल बन्दै गएकाले प्रशासनले पर्यटकहरूलाई जोखिमपूर्ण पदमार्गमा यात्रा नगर्न तथा सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।
भारी हिमपातका कारण उद्धार कार्यसमेत चुनौतीपूर्ण बन्न सक्ने देखिएकाले सम्पर्कविहीन पर्यटकको खोजीलाई तीव्रता दिइएको छ।