जनकपुरधाम । बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनका क्रममा भएको झडप र गोली प्रहारको घटनाबारे मधेश प्रदेश प्रहरीले छानबिन सुरु गरेको छ। घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो।
समितिलाई घटनाको विस्तृत छानबिन गरी यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
शनिबार फेटा गाउँपालिकामा नवनिर्मित १५ शय्याको अस्पताल उद्घाटन कार्यक्रमका क्रममा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच विवाद चर्किएपछि झडप भएको थियो। झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक आदित्य पासवान घाइते भएका थिए।
घटनामा प्रदर्शनकारीको ढुंगामुढाबाट पाँच प्रहरी घाइते भएका छन् भने १० वटा मोटरसाइकलमा आगजनी गरिएको थियो। आक्रोशित समूहले अस्पतालको शिलालेखसमेत तोडफोड गरेको थियो।
घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक सुमन लामाको जिम्मेवारीसमेत खोसिएको छ। घटनाको सुरक्षा व्यवस्थापन र प्रहरीको भूमिकामाथि प्रश्न उठेपछि उनको जिम्मेवारी परिवर्तन गरिएको हो।
रास्वपाकी सांसद समीक्षा बाँस्कोटा सहभागी हुने अस्पताल उद्घाटन कार्यक्रम रोक्न एमालेले यसअघि नै चेतावनी दिएको थियो। उक्त चेतावनीका बाबजुद कार्यक्रम सञ्चालन भएपछि दुवै दलका कार्यकर्ताबीच विवाद बढ्दै झडपमा परिणत भएको बताइएको छ।
प्रहरीले गठन गरेको समितिको प्रतिवेदनपछि घटनामा प्रहरीको भूमिका, गोली प्रहारको औचित्य र सुरक्षा व्यवस्थापनबारे थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।