काठमाडौँ । चक्रवात ‘अर्नब’को अवशेषका रूपमा पश्चिम नेपाल नजिकै विकसित न्यून चापीय क्षेत्रको प्रभाव कमजोर बन्दै गएपछि देशभरको मौसममा क्रमिक सुधार आउन थालेको छ। केही दिनदेखि प्रभावित मौसम सामान्य अवस्थामा फर्किन थाले पनि हिमाली तथा पहाडी क्षेत्रमा भने हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेको छ। यसका कारण लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली देखिएको छ।
महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ। यद्यपि, काठमाडौँ उपत्यकामा भने गएरातिदेखि वर्षा रोकिएको छ।
आज दिउँसो देशभर आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति पनि देशभर आंशिक बदली रहनेछ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसममा सुधार हुँदै गए पनि तराईका फाँट, उपत्यका तथा नदी किनारका खोँचहरूमा बिहानपख हुस्सु लाग्ने क्रम भने जारी रहनेछ। त्यसैले बिहानको समयमा यात्रा गर्ने तथा सडक यातायातमा संलग्न हुनेहरूलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।