Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

हमासमाथि अरबको दबाब बढाउने प्रयासमा ब्लिङ्केन


२६, असोज २०८०
  • 152
    SHARES
  • हमासमाथि अरबको दबाब बढाउने प्रयासमा ब्लिङ्केन
    काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले शुक्रबार अरब मुलुकका राजधानीहरूको भ्रमण सुरु गर्नुभएको छ । हमासको आतङ्कवादी हमलापछि इजराइलले गाजापट्टीमा सम्भावित ठूलो हमलाको तयारी गरिरहेको बेला हमासमाथि अरब राष्ट्रहरूको दबाब बढाउने खोजीमा उहाँले अरब मुलुकहरूको भ्रमण सुरु गर्नुभएको हो । 
     
    उहाँले लामो समयदेखिको अमेरिकाको साझेदार जोर्डका राजा अब्दुल्लाह द्वितीय र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग अम्मानमा भेट गर्नुहुनेछ । त्यसपछि उहाँले कतार, साउदी अरेबिया, इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्नुहुनेछ ।
     
    गत शनिबार हमासको आश्चर्यजनक हमलापछि अमेरिकी सहयोगी इजराइलसँग अटुट एकताको प्रतिबद्धता व्यक्त गर्दै विदेशमन्त्री ब्लिङ्केनले बिहीबारको दिन तेल अविवमा बिताउनुभयो । हमासको उक्त आक्रमणमा इजराइलमा एक हजार दुई सयभन्दा बढीको मृत्यु भएको छ भने एक सय ५० भन्दा बढीलाई हमास लडाकु समूहले बन्धक बनाएको छ ।
     
    हमासको आक्रमणपछि इजराइलले गाजापट्टीमा गरेको हमलामा एक हजार चार सयभन्दा बढीको मृत्यु भएको छ । साथै इजराइलले गाजापट्टीमा खाद्यान्न, पानी र विद्युत् आपूर्ति बन्द गरिदिएको छ । 
     
    हमासको लामो समयदेखि सम्बन्ध रहेको कतारलाई बन्धकहरूलाई मुक्त गराउन मध्यस्थकर्ताको रूपमा हेरिएको छ । विदेशमन्त्री ब्लिङ्केन जोर्डनपछि तुरुन्तै कतार जानुहुनेछ ।   
     
    “द्वन्द्वलाई थप चर्काउनबाट रोक्न सहयोग गर्न र बन्धकहरूलाई बिनाशर्त तुरुन्त रिहा गर्न हमाससँग आफ्नो प्रभावको प्रयोग गर्न अरब मुलुकहरूमाथि दबाबलाई जारी राख्नेछौँ”, तेल अविवमा बिहीबार अबेर ब्लिङ्केनले भन्नुभयो, “अरब क्षेत्रलाई अधिक शान्तिपूर्ण, अधिक समृद्ध, अधिक सुरक्षित र अधिक एकीकृत बनाउनका लागि हाम्रो सकारात्मक दृष्टिकोणलाई कसरी साकार बनाउन सक्छौँ भन्नेबारेमा पनि हामी छलफल गर्नेछौँ, वास्तवमा यो एउटा विकल्प हो र केही हदसम्म यो विकल्प हमासको कामभन्दा पनि स्पष्ट भएको छ ।”
     
    हमासको आक्रमणभन्दा केही साताअघि साउदी अरेबियाले इजराइलसँगको सम्बन्धलाई सामान्यीकरण गर्ने अमेरिकी नेतृत्वको कूटनीतिको प्रगतिबारे उल्लेख गरेको थियो । इस्लामहरूको दुई पवित्र स्थलको संरक्षकसमेत रहेको रूढिवादी साउदी अरेबियाका लागि उक्त कूटनीतिक प्रयास ऐतिहासिक कदम हो । 
     
    इजराइलसँग शान्ति कायम गर्ने पहिलो अरब मुलुक इजिप्टसँग अमेरिकी अधिकारीहरूले गाजाबाट बन्धकहरूलाई बाहिर निकाल्न सुरक्षित कोरिडोरको योजनामा काम गरिरहेका छन् । इजिप्ट गाजाको सीमा पनि हो । गाजा छोड्न वा त्यहाँबाट बाहिर निस्कन चाहने नागरिकहरूका लागि सुरक्षित बाटोको सम्भावनाबारे इजराइलसँग आफूले कुरा गरेको ब्लिङ्केनले बताउनुभयो ।  
     
    हमासको लामो समयदेखिको शत्रु र झण्डै ८८ वर्ष पुग्नुभएका महमुद अब्बासको प्यालेस्टिनी अथोरिटीले पश्चिम किनारमा सानो स्तरको स्वायत्तता पाएको छ । पश्चिम किनारमा रहेको गाजापट्टीमाथि हमासको नियन्त्रणका कारण इजराइलले १७ वर्षदेखि गाजापट्टीमाथि प्रतिबन्ध लगाएको छ ।  
     
    राष्ट्रपति जो बाइडेन र अन्य डेमोक्र्याट्सहरूको नेतृत्वमा रहेको अमेरिकाले प्यालेस्टिनी अथोरिटीलाई ठूलो मात्रामा समर्थन गर्दै आएको छ । प्यालेस्टिनी अथोरिटीलाई इजराइलसँगको दीर्घकालीन शान्तिका लागि उनीहरूले उत्तम विकल्पका रूपमा हेर्दै आएका छन् ।
     
    तर हिंसा रोक्न अब्बास यथेष्टरूपमा प्रतिबद्ध नभएको भन्दै इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी अथोरिटी र अब्बासलाई पन्छाउन खोज्नुभएको छ । उहाँको उग्र दक्षिणपन्थी सरकारले दुई राज्य समाधानको सम्भावनालाई अस्वीकार गर्दै आएको छ । 
     
    जोर्डनका राजा अब्दुल्लाहसँगको भेटपछि बिहीबार अब्बासले द्वन्द्वका बारेमा सार्वजनिक टिप्पणी गर्नुभयो । उहाँले प्यालेस्टिनी जनतामाथिको व्यापक आक्रमणलाई तुरुन्त अन्त्य गर्न आह्वान गर्दै दुवै पक्षबाट भएको नागरिकहरूको हत्या वा उनीहरूमाथि हुने दुर्व्यवहार अस्वीकार्य छ भन्नुभयो ।
     
    यसअघि अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले हमासले गरेको हमलाका बारेमा अब्बाससँग टेलिफोनमा कुराकानी गर्दै हिंसाको भर्त्सना गर्न र पश्चिम किनारमा स्थिरता कायम राख्न आग्रह गर्नुभएको थियो । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend