काठमाडौँ । रुसले क्रिमियामा आक्रमण गरेका ३८ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । एउटा भिडियो फुटेजले क्रिमियामा तेल डिपो नजिकै विस्फोट भएको देखाएको बीबीसीले जनाएको छ ।
विस्फोटका कारण रुस र क्रिमिया जोड्ने केर्च ब्रिज केही समयका लागि बन्द भएको थियो । यसबाहेक ड्रोन आक्रमणबाट कुनै क्षति नभएको रुसको भनाइ छ । तर युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा एक जनाको ज्यान गएको र तीन जना घाइते भएका छन् ।
अस्ति शनिवार रुसले युक्रेनी शहर ओडेसाको आवासीय क्षेत्रमा ड्रोन आक्रमण गर्दा १० जनाको ज्यान गएको थियो ।युक्रेनले पश्चिमी देशहरूलाई हतियारको आपूर्ति बढाउन लगातार अपिल गरिरहेको बेला यो आक्रमण भएको खबरमा उल्लेख छ ।
पछिल्लो समय रुसी सेना युक्रेनी मोर्चाभन्दा बलियो रूपमा प्रस्तुत भई आक्रमण गरिरहँदा युक्रेनको किभले पश्चिमी हतियारहरूको सहयोगमा तिनीहरूलाई रोक्न प्रयास गरिरहेको छ ।
गएको महिना मात्र रुसी सेनाले युक्रेनको महत्त्वपूर्ण पूर्वी शहर अदिभका कब्जा गरेको थियो । हिजो रुसले दक्षिणी खेरसन क्षेत्रलाई निसाना बनाएको थियो ।