बुटवल। नेपालमा मनसुनी प्रणाली भित्रिएको तीन दिन भइसक्दा पनि पश्चिम नेपालको रुपन्देही सहितका जिल्लाहरुमा फैलिन सकेको छैन । तर पूर्वी नेपालमा भौतिक संरचनामा क्षति पुग्ने गरी वर्षा र बाढी आउँदा पश्चिम तराईका जिल्लाहरुमा भने तातो हावा र लु को अवस्था निकै अत्यासपूर्ण बन्दै गएको छ ।
नेपालमा यसवर्षको मनसुन जुन १४ तारिखमा भित्रिएको थियो । यो पूर्व र मध्य नेपालमा केन्द्रित छ । तर पश्चिमतर्फ सर्न सकेको छैन । मौसमविद सन्जिव अधिकारीका अनुसार पश्चिम नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको बताए । उनले भने, त्यसले मनसुनी प्रणालीलाई फैलिन रोकिरहेको छ । जसले गर्दा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरुमा अत्यधिक गर्मी रहेको जनाए । उनका अनुसार ‘तराईका जिल्लामा अझै केही दिन गर्मी हुने देखिएको उल्लेख गरे ।
बिहीबार सबैभन्दा धेरै अधिकतम तापक्रम रुपन्देहीको भैरहवामा ४३.३ डिग्री सेल्सियस मापन भएको थियो । बाराको सिमरा र बाँकेको नेपालगञ्जमा समान ४१, कैलालीको धनगढीमा ३९.७, डोटीको दिपायलमा ३९.५, सुर्खेतको वीरेन्द्रनगरमा ३८.७ र दाङको घोराहीमा ३८.१ डिग्री सेल्सियस मापन भएको छ । मौसमविद विनोद पोख्रेलका अनुसार तराईका अधिकांश भूभागमा कम्तिमा ३/४ दिनसम्म सुक्खा हुने पूर्वानुमान छ । मध्यपहाडी, पूर्वी र मध्य क्षेत्रहरुमा भने हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुनमा महाशाखाका मौसमविद सन्जिव अधिकारीका अनुसार अहिले मनुसन कोशी प्रदेश र त्यस आसपासमा मात्र सक्रिय छ ।