काठमाण्डौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनमा ४ महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्किएका हुन् । उनी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीसहित काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
उनको स्वागतका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मामिला मन्त्री अमनलाल मोदी विमानस्थलमा पुगेका थिए । विमानस्थलमा पुनले आफू सबैको माया र सद्भावले स्वास्थ्यलाभ गरी फर्कन पाएकामा खुसी व्यक्त गरे । उता बस्दा पनि नेपालको राजनीति र समग्र अवस्थाबारे निरन्तर चासो राख्ने गरेको उनले सुनाए । ‘सक्रिय राजनीतिमा छु, स्वास्थ्यलाभपछि अझै सक्रिय रहने सोच बनाएको छु,’ पुनले भने, ‘बाँकी कुराहरु केही दिनमा राख्ने छु ।
पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए । उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको हो । उनको शरीरमा जन्डिसको मात्रा बिलरुबिन ४० बाट घटेर १.५ बिन्दुमा झरेको छ । सामान्य मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने चिकित्सकहरु बताउँछन् ।